Feature

बोडे होल्डिङ सेन्टरमा सुकुम्बासीको प्रदर्शन

भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारले खाना बन्द गरिएको विरोधमा प्रदर्शन गरेका छन्। शुक्रबार उनीहरूले थाल बजाउँदै र प्लाकार्ड बोकेर भवन परिसरमा प्रदर्शन गरेका हुन्।

यसअघि शान्ति सेवा गृहले उपलब्ध गराउँदै आएको खाना सरकारले शुक्रबारदेखि बन्द गरेपछि होल्डिङ सेन्टरमा रहेका परिवार समस्यामा परेका छन्। केही परिवारले आफैं खाना व्यवस्था गरेका छन् भने केही भोकै बस्न बाध्य भएका छन्। सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रहरी टोलीसमेत होल्डिङ सेन्टर पुगेको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ११ गते दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ। हाल त्यहाँ १९ परिवारका ५९ जना बसिरहेका छन्।

प्रशासनले १२ परिवारलाई भूमिहीनको निस्सा दिने प्रक्रिया अघि बढाउने जनाएको छ। तर सुकुम्बासी परिवारले लालपुर्जा वा स्थायी बसोबासको व्यवस्था नभएसम्म ठाउँ नछाड्ने अडान राखेका छन्। खाना र बसोबासको टुंगो नलाग्दा उनीहरूको दैनिकी थप कष्टकर बनेको छ।

Facebook Comments