lifestyle

जापानी खानासँगै संस्कृतिको उत्सव मनाउँदै होक्काइडो ग्रुप

avatar
Street Nepal

An editor at streetnepal


  • November 8, 2026
  • 12 पटक पढिएको

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ तथा आफ्नो स्थापनाको सातौँ वार्षिकोत्सवका अवसरमा होक्काइडो ग्रुपले काठमाडौंमा जापानी फुड फेस्टिभल आयोजना गरिरहेको छ।

होक्काइडो ग्रुप र र्‍याडिसन काठमाडौँको सहकार्यमा लाजिम्पाटस्थित र्‍याडिसन काठमाडौँ परिसरको होक्काइडो एसियन कुजिनमा नोभेम्बर ३ देखि ९, २०२६ सम्म फेस्टिभल सञ्चालन भइरहेको छ।

फेस्टिभलमा जापानी खानाका विभिन्न परिकारसँगै प्रत्यक्ष पाककला प्रदर्शन तथा सांस्कृतिक गतिविधि समावेश गरिएका छन्। यसको मुख्य आकर्षण जापानबाट आएका सुसी कलाकार काजुयुकी हायाशीको प्रत्यक्ष सुसी बनाउने प्रस्तुति रहेको छ। उनले आगन्तुककै अगाडि जापानी शैलीमा सुसी तयार गरेर पाककलाको सीप र परम्परा प्रदर्शन गरिरहेका छन्।

फेस्टिभलमा निगिरी सुसी, होसोमाकी रोल, तेप्पान्याकीलगायत करिब ४८ परिकार नौवटा विधामा प्रस्तुत गरिएको छ। खानाका अतिरिक्त जापानी क्यालिग्राफी र माचा चिया बनाउने परम्परागत विधिको प्रदर्शनसमेत भइरहेको छ।

हरेक दिन साँझ ५ देखि ८ बजेसम्म सञ्चालन हुने फेस्टिभलमा प्रतिव्यक्ति ३ हजार रुपैयाँमा डिनर बुफे तथा अनलिमिटेड सुसीको व्यवस्था गरिएको छ। आयोजकका अनुसार दैनिक ७० जनाका लागि मात्र सहभागिता सीमित गरिएको छ।

सन् २०१९ मा पार्क भिलेज रिसोर्टबाट व्यावसायिक यात्रा सुरु गरेको होक्काइडो ग्रुपले सात वर्षको अवधिमा काठमाडौं उपत्यका, पोखरा र चितवनसम्म आफ्नो सेवा विस्तार गरेको छ। समूहले हाल १० वटा रेस्टुरेन्ट तथा आउटलेट सञ्चालन गरिरहेको जनाएको छ।

नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई खानामार्फत थप नजिक बनाउने उद्देश्यले आयोजित फेस्टिभलले नेपाली आगन्तुकलाई जापानी खानाको स्वाद, पाककला र परम्परासँग परिचित गराउने अपेक्षा गरिएको छ।

Facebook Comments