entertainment

नयाँ प्रविधि सहित फेरी खुल्यो जय नेपाल हल

Published

on

काठमाडौंको हात्तिसारस्थित ऐतिहासिक जय नेपाल चलचित्र हल पुनः सञ्चालनमा आएको छ।

करिब ७५ वर्ष पुरानो इतिहास बोकेको यो हल केही वर्षदेखि बन्द अवस्थामा थियो भने कोभिडपछि झन्डै खण्डहरजस्तै बनेको थियो। अब भने नयाँ पुस्ताका युवाहरूको पहलमा आधुनिक सुविधासहित यसलाई नयाँ स्वरूपमा पुनर्जीवित गरिएको छ।

वि.सं. २००९ सालतिर स्थापना भएको मानिने जय नेपाल नेपाली चलचित्र संस्कृतिको महत्वपूर्ण प्रतीकका रूपमा परिचित छ। दरबारमार्ग र नारायणहिटी संग्रहालय नजिक रहेको यो हलले दशकौँसम्म नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।

हलका निर्देशक संजय श्रेष्ठका अनुसार पुरानो इतिहास र सांस्कृतिक विरासत जोगाउने उद्देश्यले हलको पुनःनिर्माण गरिएको हो। अहिले यहाँ आधुनिक साउण्ड सिस्टम, आरामदायी सिट, सहज पार्किङ र सुरक्षित संरचना जस्ता सुविधा थपिएका छन्। युरोपबाट ल्याइएको अत्याधुनिक साउण्ड सिस्टमले दर्शकलाई उत्कृष्ट चलचित्र अनुभव दिने दाबी गरिएको छ।

हलका अर्का सञ्चालक हरिकृष्ण श्रेष्ठले जय नेपाल केवल चलचित्र हेर्ने स्थान नभई नेपाली समाजको सम्झना र इतिहास बोकेको धरोहर भएकाले यसको संरक्षण आवश्यक रहेको बताए। पहिलेको ‘स्पेशल’ र ‘बाल्कोनी’ संस्कृतिलाई अहिले ‘गोल्ड’ र ‘प्लाटिनम’ सिटमार्फत नयाँ पुस्तासामु प्रस्तुत गरिएको छ।

दुई तले संरचना रहेको जय नेपाल हल अहिले नेपालमा दुर्लभ मानिने पुराना सिनेमाघरमध्ये एक हो। साथै, हलभित्र नेपाली उत्पादनलाई प्राथमिकता दिँदै स्थानीय ब्रान्डका सामग्रीसमेत राखिएका छन्।

सञ्चालकहरूले नयाँ पुस्ताका युवालाई यहाँ आएर पुरानो समयको सिनेमाघरको अनुभव लिन आग्रह गरेका छन्। पुरानो पुस्ताको सम्झना र नयाँ प्रविधिको संयोजन बनेको जय नेपाल हल फेरि एकपटक नेपाली चलचित्र संस्कृतिको जीवित इतिहासका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।\

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version