चलचित्र ‘मलाय क्रमु’ को छायाङ्कन सम्पन्न
गुरुङ समुदाय र संस्कृतिमा आधारित पारिवारिक चलचित्र ‘मलाय क्रमु’ को छायाङ्कन सम्पन्न भएको छ। असोज ७ गते लमजुङको बेसीसहरबाट सुरु भएको छायाङ्कन घनपोखरा र भुजुङ हुँदै पुनः बेसीसहरमै पुगेर सम्पन्न भएको निर्माण पक्षले जनाएको छ।
पिटर गुरुङको लेखन तथा निर्देशन र खेमेन्द्र गुरुङको निर्माणमा बनेको चलचित्रमा पारिवारिक सम्बन्ध, अभिभावकका अधुरा सपना र पुस्ताबीचको वैचारिक द्वन्द्वलाई हास्य तथा भावनात्मक शैलीमा प्रस्तुत गरिएको छ।
चलचित्रको गीत छायाङ्कनका लागि मनाङ जाने योजना रहे पनि बाढीका कारण बाटो अवरुद्ध भएपछि उक्त योजना रद्द गरिएको निर्माण पक्षले जनाएको छ।
चलचित्रमा मनोज गुरुङ, मनिका गुरुङ, धनकुमारी गुरुङ (काशी), मन्जु गुरुङ, गजेन्द्र गुरुङ, खेम जंग गुरुङलगायत कलाकारको अभिनय छ।
निर्माण पक्षका अनुसार चलचित्रको प्रिमियर आगामी मङ्सिरको अन्तिमतिर लमजुङको बेसीसहरमा गरिनेछ। गुरुङ संस्कृति र पारिवारिक कथालाई समेटेको चलचित्रले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।




