सजिँदै बालगोपालेश्वर मन्दिर
तिहारको रौनक बढ्दै जाँदा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पनि भाइटीकाको स्वागतका लागि सजिन थालेको छ। वर्षमा एक दिन अर्थात् भाइटीकाका दिन मात्रै सर्वसाधारणका लागि खुला गरिने यस मन्दिरमा अहिले रङरोगन, सरसफाइ तथा सजावटको काम भइरहेको छ।
भाइटीकाका दिन दाजुभाइ तथा दिदीबहिनी नहुनेहरू मन्दिर पुगेर बालगोपालेश्वरको दर्शन गर्ने र टीका लगाउने परम्परा छ। यही परम्पराअनुसार हरेक वर्ष भाइटीकाका दिन मन्दिर सर्वसाधारणका लागि खुला गरिन्छ।
वर्षको एक दिन मात्र खुल्ने भएकाले यस मन्दिरमा भाइटीकाका दिन विशेष चहलपहल हुने गर्छ। दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनको भीडलाई व्यवस्थित गर्न मन्दिर परिसरको सरसफाइ, रङरोगन र आवश्यक व्यवस्थापनको कामलाई तीव्रता दिइएको छ।
भाइटीकाको दिन बालगोपालेश्वर मन्दिरमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूका साथै अन्य भक्तजनको पनि घुइँचो लाग्ने गर्दछ।







