गुण्डुमा मखमली फूल टिप्न र माला गाँस्न व्यस्त किसान
भक्तपुरको गुण्डुमा तिहार नजिकिएसँगै मखमली फूल टिप्ने र माला गाँस्ने चटारो बढेको छ। भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली मालाको माग बढ्ने भएपछि यहाँका किसान फूल टिप्न र बिक्रीका लागि माला तयार गर्न व्यस्त छन्।
मखमली फूल नेपाली संस्कृतिमा विशेष महत्व बोकेको फूल हो। लामो समयसम्म नओइलाउने र रङ नखुइलिने भएकाले यसलाई दाजुभाइ र दिदीबहिनीबीचको अटुट प्रेम, आत्मीयता र दीर्घायुको प्रतीकका रूपमा लिइन्छ। भाइटीकामा दाजुभाइको सुख, समृद्धि र दीर्घायुको कामना गर्दै मखमलीको माला लगाइदिने परम्परा छ।
यही सांस्कृतिक महत्वका कारण तिहारमा मखमली फूलको माग बढ्ने गर्छ। काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा यसको व्यावसायिक खेती हुँदै आएको छ। भक्तपुरको गुण्डु मखमली फूल खेतीका लागि परिचित क्षेत्रमध्ये एक हो।
गुण्डुमा स्थानीय किसानसँगै बाहिरबाट आएर बसोबास गर्नेहरूले पनि फूल खेतीबाट आम्दानी गर्दै आएका छन्। पछिल्लो दुई वर्षदेखि यहाँ फूल खेती गर्दै आएकी प्रमिला घतानी-दुलालले करिब डेढ रोपनी जग्गा भाडामा लिएर खेती गरिरहेकी छन्। त्यसमध्ये आधा रोपनीमा मखमली फूल लगाएकी छन् भने बाँकी जग्गामा तरकारी खेती गरेकी छन्।
पहिले घरायसी काममा सीमित उनी अहिले फूल खेतीबाट आफ्नो खर्च आफैँ जुटाउने प्रयासमा छिन्। यस वर्ष करिब एक हजारदेखि १२ सयसम्म माला तयार हुने उनको अनुमान छ।
गुणस्तरअनुसार एउटा मखमली माला २१ देखि ४० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनी बताउँछिन्। तर यस वर्ष अत्यधिक वर्षाका कारण फूल उत्पादन राम्रो हुन नसकेको उनको अनुभव छ।
फूल खेतीबाट परिवारको सम्पूर्ण खर्च धान्न नसके पनि जग्गाको भाडा, तरकारी र घरायसी खर्च जुटाउन सहयोग पुगेको उनले बताइन्। अब थप जग्गा लिएर टनेल निर्माण गर्ने र फूलसँगै अन्य खेती विस्तार गर्ने उनको योजना छ।
















