Feature

‘सधैँ काठमाडौँ बस्न सक्दैनौँ, तिहारपछि थातथलो फर्कन्छौँ’

avatar
Street Nepal

An editor at streetnepal


  • November 5, 2026
  • 25 पटक पढिएको

काठमाडौँ, १९ कार्तिक

रसुवा टिमुरेकी लाङराङ तामाङ दुई महिनादेखि काठमाडौँको होल्डिङ सेन्टरमा छिन् । उनको साथमा न श्रीमान् छन्, न परिवारका अरू कोही सदस्य । एक्लो जीवन कटाइरहेकी उनलाई बाँकी जीवन कहाँ र कसरी कटाउने भन्ने चिन्ताले पिरोलेको छ । ‘बुढा पनि अलगै हुनुहुन्छ । छोरी बिहे गरेर गइसकिन् । टिमुरेमा पनि जग्गा–जमिन केही छैन । घर पनि छैन । अलिअलि भएको पनि बाढीपहिरोले लग्यो,’ उनले सुनाइन्, ‘सरकारले पनि हेरेको छैन । संस्थाले हेरेको छ, खुवाएको छ ।’

उनीसहित भोटेकोशी बाढीबाट विस्थापित भएकाहरू दुई महिनादेखि काठमाडौँमा आश्रित छन् । काठमाडौँको स्वयम्भुस्थित मुस्ताङ गुम्बामा अस्थायी रूपमा बसिरहेका उनीहरू थातथलो फर्कने योजनामा छन् । सरकारले पुनर्स्थापनाको ठोस योजना नल्याएपछि उनीहरू थातथलो फर्कने भएका हुन् ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका कामी नुर्बु तामाङ सरकारले आफूहरूको स्थायी व्यवस्थापनको कुनै जानकारी नदिएको र उपस्थिति देखाउन नसकेको गुनासो गरे । सधैँ होल्डिङ सेन्टरमा बस्ने विषय सम्भव नभएकाले तिहारपछि टिमुरे फर्किने उनले सुनाए । ‘हामी सधैँ यहीँ बसेर हुँदैन । हामी थातथलो फर्कन तयार छौँ । हामी जन्मभूमिमा गएर हिजोको परम्परा, रीतिरिवाज जोगाउन छ । छिटोभन्दा छिटो फेरि रसुवागढी नाकालाई बनाउनुपर्नेछ । हामी त्यसैका लागि फर्कन चाहन्छौँ,’ उनले भने ।

टिमुरेमाथि डाँडामा बासस्थान बनाउने योजना रहेको उनले सुनाए । पुनर्वासका लागि खाद्यान्न, अस्थायी टहराको व्यवस्था गरिदिन उनले सरकारलाई आग्रह गरे । बाढीपछि राहतस्वरूप आएको पैसा प्रयोगमा ल्याउन सरकारलाई उनको सुझाव छ ।

काठमाडौँको गुम्बामा बास बस्दा समाज, संस्कृति, खानपिन नमिलेको उनको अनुभव छ । उनकाअनुसार बाढीबाट टिमुरेका २० देखि २५ प्रतिशत स्थानीयमात्र जीवित छन् । ‘हाम्रो अभिभावक भनेको त सरकार हो । हामी भारतबाट आएको शरणार्थी होइन, चीनबाट आएको शरणार्थी होइन । लिच्छवीकालदेखि नै त्यो रसुवागढी नाका सञ्चालनमा आयो । हामी पुर्खा नाकाको सुरक्षाकर्मी हो,’ उनले भने ।

अभिभावकविहीन बालबच्चाको भविष्य पनि चिन्ताको विषय बनेको तामाङले सुनाए । ‘सरकार ! हामीबीच आएर मल्हम लगाउने काम गर्नुहोला । बालबच्चा देशका कर्णधार हुन् । उनीहरूको विकास गरौँ । उनीहरू भए भोलि देशलाई फाइदा होला । स्वास्थ्य, शिक्षामा ध्यान दिनपर्छ,’ उनले सरकारलाई आग्रह गरे । सरकारले बाढीपीडितको समस्या सम्बोधन नगरेमा सडकमा आउन बाध्य हुने उनले चेतावनी दिए ।

टिमुरेबाट उद्धार गरिएका पीडितलाई सुरूमा १० दिन यल्लो गुम्बामा बसेका थिए । त्यसपछि उनीहरुलाई मुस्ताङ गुम्बामा स्थानान्थरण भए ।

अर्की पीडित पासाङ तामाङले आफूहरूको प्रमुख समस्या बासस्थानकै रहेको सुनाइन् । सबै टिमुरेबासीलाई गाउँ फर्किएर बस्ने व्यवस्था मिलाइदिन उनले सरकारलाई आग्रह गरिन् । ‘सरकारले, संसारले हाम्रो दुःख देखेको छ । पहिलो त हामीलाई बासकै समस्या छ,’ उनले भनिन्, ‘हामी हाम्रै गाउँ फर्कन चाहन्छौँ । गाउँ फर्कन बाटो बनाउनपर्ने छ । त्यो गरिन्जेल तत्काललाई सबैलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाइदिएको भए धेरै राम्रो हुन्थ्यो ।’

भदौ १० सम्झँदा पीडितहरू अझै पनि झस्कन्छन् । टिमुरेमा बाढी आएपछि डाँडा चढ्न थाले । दिनभर उद्दारकै आसमा बसे । कोही आएन । गाउँको घरमा उनीहरूले रात काटे । भोलिपल्ट हेलिकप्टर आयो । ८/९ जना गर्दै सबै धुन्चे ल्याइयो । त्यहाँबाट स्थलमार्ग हुँदै उनीहरूलाई काठमाडौँ ल्याइएको थियो । सरकारले बाढीपीडितलाई अस्थायी बसोबासका लागि मासिक १५ हजार रुपैयाँ दिने निर्णय गर्‍यो । तर, पीडितहरू उक्त पैसा काठमाडौँमा बस्न अपर्याप्त हुने बताउँछन् ।

काठमाडौँमा परिवार बस्न फ्ल्याट खोज्दा २०/२५ हजार रुपैयाँ लाग्ने र त्यो अपर्याप्त भएको बाढीपीडित पेम्बा जाङ्मु घलेले सुनाइन् । ‘अलिअलि पैसा हुने त गयो । हामी त केही छैन । पीडितै हो । बच्चा विदेश गएको पनि त्यस्तो केही छैन । भएको बच्चा पढ्दै छ । १५ हजारले घरभाडा तिर्ने कि ? रासनको तिर्ने कि ? पढेको तिर्ने कि ?’ उनले प्रश्न गरिन् । पैसाभन्दा पनि सरकारले गाउँ फर्कने वातावरण बनाइदिए सहज हुने उनको भनाइ छ । उनी भन्छिन्, ‘मकै पिसेर, चामल पिसेर खाने गरेर भएपनि हामी गाउँमै जाने हो ।’

मुस्ताङ गुम्बामा २०७ जना पुरुष, २०४ जना महिला गरेर ४११ जना आश्रित छन् । तीमध्ये १७१ जना बालबालिका र ८० जना वृद्धवृद्धा हुन् ।  

तस्बिर : नेपाल फोटो लाइब्रेरी

Facebook Comments