Art

आर्टुडियोमा इजरायली कलाकारको एकल प्रदर्शनी हुने

Published

on


ललितपुर स्थित आर्टूडियो इजरायली कलाकार ओहार मोरं मंकको ‘ह्वेर द वाटर फल्स’ नामक एकल कला प्रदर्शनी हुने भएको छ।

आर्टुडियो इन्टरनेशनल आर्टिस्ट रेसिडेन्सी अन्तर्गत कलाकारको काठमाडौं बसाइँका क्रममा तयार गरिएको उक्त प्रदर्शनी हुने भएको हो।

आगामी २९ मे २०२६ मा साँझ ६ बजे आर्टूडियो नेपालको पाटन विङ, नकबहिलस्थित आर्टुडियोमा प्रदर्शनीको उद्घाटन गरिने आयोजकले जनाएको छ। प्रदर्शनी सर्वसाधारणका लागि ३० मेदेखि २ जुनसम्म बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म खुला रहनेछ।

काठमाडौंमा गरिएको अनुसन्धान, अवलोकन र अनुभवका आधारमा विकसित प्रदर्शनीले नेपालका परम्परागत हिटी पानी प्रणाली, धार्मिक तथा सांस्कृतिक अभ्यास तथा दैनिक जीवनका अदृश्य संरचनालाई केन्द्रमा राखेको छ। प्रदर्शनीमार्फत स्मृति, भक्ति, दृश्यता र सामूहिक जिम्मेवारीजस्ता विषयलाई कलात्मक ढंगले प्रस्तुत गरिएको आयोजकको भनाइ छ।

भिडियो, इन्स्टलेसन तथा नयाँ मिडिया माध्यम प्रयोग गरी तयार गरिएका कलाकृतिहरूमा पानीलाई केवल भौतिक आवश्यकताको रूपमा नभई स्मृति, विश्वास, हेरचाह र रूपान्तरणको प्रतीकात्मक माध्यमका रूपमा चित्रण गरिएको छ। प्रदर्शनीले देखिने र नदेखिने संरचनाबीचको सम्बन्ध उजागर गर्दै समाजले कसरी सम्झन्छ, परिवर्तन गर्छ र बिर्सन्छ भन्ने प्रश्नसमेत उठाएको छ।

आर्टुडियोका अनुसार “ह्वेर द वाटर फल्स”ले परम्परा र परिवर्तनबीचको सम्बन्धलाई केन्द्रमा राख्दै सांस्कृतिक स्मृति समयसँगै कसरी निर्माण र पुनःकल्पना हुन्छ भन्ने विषयमा चिन्तन प्रस्तुत गर्छ।

प्रदर्शनी एआईआर अन्तर्गतको कलाकार आवासीय अभ्यासको परिणाम भएको जनाइएको छ। आर्टुडियोले अन्तर्राष्ट्रिय कलाकार आवास कार्यक्रमलाई नेपालको समकालीन कला क्षेत्रलाई विश्वव्यापी संवाद, अनुसन्धान र सिर्जनात्मक आदानप्रदानसँग जोड्ने दीर्घकालीन अभ्यासका रूपमा अघि बढाइरहेको जनाएको छ।

आर्टुडियोका संस्थापक तथा समकालीन कलाकार कैलाश श्रेष्ठले अन्तर्राष्ट्रिय कलाकार आवास कार्यक्रम नेपाललाई समकालीन कलाको विश्वव्यापी केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन दृष्टिकोणसँग जोडिएको बताए।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version