स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको प्रणाली एकीकृत गर्ने प्रस्तावमाथि छलफल
- November 24, 2026
- 2 पटक पढिएको
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई आर्थिक रूपमा दिगो र प्रभावकारी बनाउने उद्देश्यले कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणाली एकीकृत गर्ने प्रस्तावमाथि छलफल भएको छ।
तीनवटै निकायको हाल छुट्टाछुट्टै सञ्चालन हुँदै आएको योगदान सङ्कलन र भुक्तानी प्रणालीलाई एकीकृत तथा व्यवस्थित गर्ने विषयमा सम्बन्धित मन्त्री र सरकारी अधिकारीबीच छलफल भएको हो।
छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि र स्वास्थ्य बीमा बोर्डका अधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकमा तीनवटै निकायलाई एकीकृत गर्न विद्यमान ऐनहरूमा आवश्यक संशोधन गर्ने वा एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने दुई विकल्पमाथि छलफल गरिएको छ।
प्रस्तावित व्यवस्थाले योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई सहज बनाउनुका साथै स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

