तमू (गुरुङ) समुदायमा रहेर सञ्चार क्षेत्रमा सक्रिय सञ्चारकर्मीहरूका लागि आयोजित पत्रकारिता आचारसंहिता, डिजिटल मिडिया तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ।
शनिबार काठमाडौंको ठमेलस्थित यात्री सुइट्स एन्ड स्पाको सभाहलमा आयोजित कार्यशालामा देशका विभिन्न स्थानमा रहेर पत्रकारिता, फोटो पत्रकारिता, भिडियो पत्रकारिता तथा डिजिटल सञ्चारमाध्यममा सक्रिय दर्जनौँ तमू सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
तमू (गुरुङ) सञ्चारकर्मी संघ, जिल्ला कार्यसमिति काठमाडौंको आयोजनामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य रविराज बराल र सेन्टर फर मिडिया रिसर्चका प्रशिक्षक ईश्वर दाहालले पत्रकारिता आचारसंहिता, डिजिटल मिडिया तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगका विषयमा प्रशिक्षण दिएका थिए।
कार्यक्रमको पहिलो सत्रमा गुरुङ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले सञ्चारकर्मीका चुनौती र व्यावसायिक दिगोपनका विषयमा प्रेरणात्मक प्रस्तुति दिएका थिए।
बिहान ८ बजेदेखि सुरु भएको कार्यशाला साँझ ५ः३० बजे सम्पन्न भएको थियो। अलाइन्स ट्रेकिङ एन्ड एक्सपिडिसन प्रालि र युनाइटेड गुरुङ सोसाइटीको प्रायोजनमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष नवीनबाबु गुरुङले कार्यशालाबाट प्राप्त ज्ञान र सीपलाई सञ्चारकर्मीहरूले आफ्नो कार्यक्षेत्रमा व्यवहारमा उतार्ने विश्वास व्यक्त गरे। उनले देश तथा विदेशमा विभिन्न सञ्चारमाध्यमबाट सञ्चारकर्म गरिरहेका तमू सञ्चारकर्मीहरूलाई संघसँग आबद्ध हुनसमेत आग्रह गरे।
त्यस्तै, तमू (गुरुङ) सञ्चारकर्मी संघ केन्द्रीय समितिका अध्यक्ष चित्र सोल्टी गुरुङले कार्यशाला आयोजना गरेकोमा काठमाडौं जिल्ला कार्यसमितिलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता र व्यक्तित्व विकासमा सहयोग पुग्ने बताए।
