Connect with us

entertainment

श्रद्धापूर्वक मनाइयो बरसाइत पर्व

Published

on

पतिको दीर्घायु, सुख–समृद्धि र दाम्पत्य जीवनको मंगलकामना गर्दै मिथिलाञ्चलका महिलाले आज श्रद्धापूर्वक बरसाइत (बटसावित्री) पर्व मनाएका छन्। प्रत्येक वर्ष जेठ कृष्णपक्षको औँसीका दिन मनाइने यो पर्व विशेषगरी विवाहित महिलाका लागि महत्वपूर्ण मानिन्छ।

बरसाइत पर्वमा नवविवाहिता महिलाले बिहेपछि आउने पहिलो पर्व अनिवार्य रूपमा श्रीमान्को घरमै मनाउने परम्परा रहेको छ। पर्वको अघिल्लो दिन नुहाइधुवाइ गरी सात्विक भोजन गर्ने चलन छ भने माइतीबाट लुगा, चुरा, सिन्दूर लगायतका शृङ्गार सामग्री पठाइने गरिन्छ।

आज बिहानैदेखि महिलाहरू रातो, पहेँलो र विभिन्न रंगका परम्परागत पहिरनमा सजिएर नजिकैको वर (बर) रुखमुनि पूजा गर्न पुगेका छन्। वर र पीपल दुवैको उपस्थितिलाई शुभ मानिने भएकाले सम्भव भएसम्म दुवै रुखसँगै पूजा गरिन्छ।

पूजाका क्रममा अंकुरी, फलफूल, नरिवल लगायतका प्रसाद वरको जरामा चढाइन्छ। महिलाहरूले सिन्दूरले वरको रुख सजाउँदै रातो र पहेँलो धागोले सात पटक बेर्ने परम्परा पनि निभाएका छन्। पति–पत्नीले सँगै परिक्रमा गर्ने र जल चढाउने चलनले दाम्पत्य सम्बन्ध अझ बलियो हुने विश्वास गरिन्छ।

धार्मिक मान्यताअनुसार सावित्रीले आफ्नो पतिलाई मृत्युबाट बचाएको कथासँग यो पर्व जोडिएको छ। त्यसैले महिलाहरू दिनभर उपवास बसेर परिवारको सुख, शान्ति र पतिको दीर्घायुको कामना गर्दै श्रद्धापूर्वक बरसाइत पर्व मनाउने गर्छन्।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

नेपालकै पहिलो ‘स्मार्ट सेफ्टी ब्यारेड’

Published

on

ललितपुरको जावलाखेलमा नेपालमै पहिलोपटक स्मार्ट सेफ्टी ब्यारेड परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ।

यो प्रणालीले पैदलयात्रीलाई सुरक्षित रूपमा सडक काट्न सहयोग गर्छ। ट्राफिक लाइट रातो हुँदा ब्यारिकेट आफैं खुल्छ र पैदलयात्रीले जेब्रा क्रसिङबाट सडक पार गर्न सक्छन्।

गाडीका लागि हरियो बत्ती बल्नेबित्तिकै ब्यारिकेट बन्द हुन्छ। यसले जथाभावी सडक काट्ने बानीलाई रोक्न मद्दत गर्छ।

यसमा विशेष सेन्सर पनि जडान गरिएको छ। यदि कुनै व्यक्ति सडकको बीचमा रहेको अवस्थामा सिग्नल परिवर्तन भयो भने, सेन्सरले त्यसलाई पहिचान गर्छ र ब्यारिकेट तुरुन्त बन्द हुन दिँदैन। यसले दुर्घटनाको जोखिम कम गर्छ।

ललितपुर महानगरपालिकाका अनुसार यो प्रविधिले पैदलयात्रीको सुरक्षा बढाउने, ट्राफिक नियमको पालना गराउने र सडक दुर्घटना घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

परीक्षण सफल भएमा यो प्रणाली अन्य व्यस्त चोकहरूमा पनि विस्तार गरिनेछ।

Continue Reading

entertainment

पशुपतिनाथमा भक्तजनको घुइँचो

Published

on

साउन महिनाको पहिलो सोमबार भगवान् शिवको आराधना गर्न देशका विभिन्न स्थानबाट आएका हिन्दू धर्मावलम्बीहरूको घुइँचो पशुपतिनाथ मन्दिर क्षेत्रमा लागेको छ।

बिहानैदेखि श्रद्धालुहरू जल चढाउन, पूजा–आराधना गर्न तथा दर्शनका लागि लामबद्ध भएका छन्।

साउन महिनाका सोमबारहरू शिवभक्तका लागि विशेष महत्त्वका मानिने भएकाले प्रत्येक वर्ष यस दिन पशुपतिनाथ क्षेत्रमा ठूलो संख्यामा भक्तजनको उपस्थिति हुने गर्दछ।

प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ भने दर्शनलाई सहज बनाउन आवश्यक व्यवस्थापन गरिएको छ।

Continue Reading

entertainment

‘जिउँदो आकाश’को नियमित मञ्चन सुरु

Published

on

काठमाडौंको थापागाउँस्थित एक थिएटर नेपालमा चर्चित नेपाली नाटक ‘जिउँदो आकाश’को नियमित मञ्चन सुरू भएको छ।

यौनिक तथा अल्पसंख्यक समुदायको जीवन, पहिचान र उनीहरूले समाजमा भोग्ने विभेदको कथा प्रस्तुत गर्ने नाटक ‘जिउँदो आकाश’ साउन १ गतेदेखि नियमित मञ्चनमा आएको हो।

वि.सं. २०७३ जेठ २९ गते दोलखाको चरीकोटबाट पहिलो पटक मञ्चन भएको यो नाटक यौनिक तथा अल्पसंख्यकको विषयवस्तुमा आधारित पहिलो नेपाली नाटकका रूपमा परिचित छ।

नेपालका विभिन्न सहरमा ८६ भन्दा बढी पटक मञ्चन भइसकेको यो नाटक भारतको दिल्ली र गुवाहाटीमा आयोजित अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा समेत प्रस्तुत भइसकेको छ।

लेखक चन्द्रप्रसाद पाण्डेले पुरूष शरीर लिएर जन्मिए पनि स्त्री स्वभाव भएकी ‘गरिमा’ (गौरव) को कथामार्फत समाज, परिवार र विद्यालयबाट भोग्नुपरेको अस्वीकृति तथा संघर्षलाई नाटकमा प्रस्तुत गरेका छन्। निर्देशक आर.के. मेहताका अनुसार नाटकले लैंगिक पहिचानभन्दा माथि उठेर मानवतालाई केन्द्रमा राख्ने सन्देश दिन्छ।

नाटकमा कलाकार अनिल सुब्बाले गरिमाको भूमिकामा अभिनय गरेका छन्। रेनुका कार्की सह-निर्देशक रहेकी छन् भने किरण चाम्लिङ राईको संगीत परिकल्पनासँगै युकेश राई, सोनाम तामाङलगायतले प्रत्यक्ष संगीत प्रस्तुत गरिरहेका छन्।

साउन १ देखि १२ गतेसम्म बुधबारबाहेक हरेक दिन साँझ ५:३० बजे नाटक मञ्चन हुनेछ। दर्शकको सुविधाका लागि शनिबार दिउँसो १:३० बजे अतिरिक्त शो पनि राखिएको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com