बाढीले डुबायो घर, भुइँथानको टेन्टमा बित्दैछ दैनिकी
गोरखा — बुढीगण्डकी नदीमा आएको बाढीले घर डुबाएपछि गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजारका बासिन्दाको बास अहिले अस्थायी टेन्टमा सरेको छ। कुनै समय आफ्नै घरमा परिवारसँग बसिरहेका उनीहरू अहिले भुइँथानमा टाँगिएका टेन्टभित्र चिसो रात काटिरहेका छन्।
असोज २५ गते आएको बाढीले शान्तिबजारका करिब ५३ देखि ६० घर डुबानमा पारेपछि स्थानीय बासिन्दा विस्थापित भएका हुन्। घरमा बस्न सक्ने अवस्था नरहेपछि उनीहरू सुरक्षित स्थान खोज्दै भुइँथान पुगे। नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराएका टेन्टमा अहिले २७ परिवारले आश्रय लिइरहेका छन्।
‘शान्तिबजारका करिब ६० घर डुबानमा परेका छन्। अहिले हामी भुइँथानमा टेन्टमा बसिरहेका छौँ,’ बाढीपीडित इन्द्रबहादुर आले मगरले भने, ‘स्थानीय सरकारले पनि राहत दिइरहेको छ। अहिले खान र बस्नका लागि व्यवस्था ठीकै छ।’
तत्कालका लागि खाना र ओतको व्यवस्था भए पनि विस्थापित परिवारको चिन्ता हटेको छैन। टेन्टको अस्थायी बसाइ, बढ्दो चिसो र अनिश्चित भविष्य उनीहरूका सामु चुनौती बनेका छन्।
स्थानीय सरकारले चिसो बढ्दै जाने भएकाले विशेषगरी वृद्धवृद्धा र साना बालबालिका भएका परिवारलाई कोठा भाडामा लिएर बस्न आग्रह गरेको छ। त्यसका लागि प्रतिपरिवार मासिक १५ हजार रुपैयाँसम्म उपलब्ध गराउने भनिएको आले मगरले बताए।
बाढीपीडित गौरी गुरुङका अनुसार अहिले शिविरमा खाना, सुत्ने व्यवस्था र बालबालिकाका लागि कपडाको प्रबन्ध गरिएको छ। ‘अहिले हामीलाई मुख्य रूपमा खान र सुत्नका लागि व्यवस्था चाहिएको हो। त्यो भइरहेको छ,’ उनले भनिन्, ‘सानो बच्चा र वृद्धवृद्धा भएका परिवारलाई कोठा भाडामा लिएर बस्न रकम दिने कुरा पनि भएको छ।’
राहतले विस्थापित परिवारलाई तत्कालको संकट टार्न केही सहज बनाएको छ। तर राहत वितरण र अस्थायी बसोबासको व्यवस्थाले मात्रै उनीहरूको समस्या समाधान हुँदैन। बाढीले घर तथा सम्पत्तिमा पुर्याएको क्षतिको यकिन विवरण संकलन, सुरक्षित आवासको व्यवस्था र दीर्घकालीन पुनःस्थापनाको प्रश्न अझै बाँकी छ।
अहिले शान्तिबजारका बाढीपीडितका लागि टेन्ट नै घर बनेको छ। तर यो अस्थायी घरमा उनीहरूले कति समय बिताउनुपर्ने हो भन्ने निश्चित छैन। आफ्नै घरमा फर्केर सामान्य जीवनमा कहिले रमाउन पाइन्छ भन्ने प्रतीक्षामा उनीहरू छन्।








नेपाल फोटो लाईब्रेरी
