बागलुङ बजारवासी सुस्ताउने ‘ऐतिहासिक पार्क’
- November 23, 2026
- 3 पटक पढिएको
घना बस्ती भएको बागलुङ बजार साँघुरो छ । बजार क्षेत्रमा खुल्ला ठाउँ छैन । अहिले स्थानीय सुस्ताउन बजारमा एउटा मात्रै पार्क छ । बागलुङ नगरपालिका–२ समिक्षालय चोकमा रहेको ऐतिहासिक पार्क हिजोआज चिटिक्क बनेको छ ।
केही वर्ष अगाडिसम्म उजाड पार्क बागलुङ नगरपालिकाले व्यवस्थित बनाएपछि बजारवासीका लागि सुस्ताउने ठाउँ बनेको छ । नगरपालिकाले फूल, विरुवा रोपेर र करिब दुई सय देशका झण्डा राखेर आकर्षित बनाएको छ ।
नगरपालिकाले पार्कको सौन्दर्यकरण गरेपछि बाहिरबाट आउने पर्यटकसमेत यहाँ आएर केहीबेर सुस्ताउँछन् ।
नगरपालिकाले पार्कमा भएका पुराना रुख काटछाँट गरेर अहिले नयाँ रुख रोपेको छ । हरियाली रुखले पार्कको सुन्दरतालाई थप बढाएको छ । पार्कको नाम पहिला वीरेन्द्र–ऐश्वर्य पार्क थियो । बागलुङ नगरपालिकाले २०८१ सालमा पुनःनिर्माण गरेपछि पार्कको नामै परिवर्तन गरेर ‘ऐतिहासिक पार्क’ नामकरण गरेको हो ।
वि.स २०६२/०६३ सालको जनआन्दोलनमा पार्कमा रहेका वीरेन्द्र र ऐश्वर्यको मूर्ति ढालेपछि यो पार्क व्यवस्थित बन्न सकेको थिएन । नगरपालिकाले ९६ लाख रुपैयाँ खर्चेर मर्मत गरेपछि अहिले बालबालिका, युवायुवती र वृद्धवृद्धासम्म यहाँ सुस्ताउन पुग्ने र गन्थनमन्थन गर्छन् । बेलाबखत युवाहरुले भजनकृतनसमेत गर्दै आएका छन् ।
पालिकाले पार्कको नजिकै सार्वजनिक शौचालय र कफी सप निर्माण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङसँगै रहेको पार्क बिहानदेखि साँझ ७ बजेसम्म मात्र खुल्ला हुन्छ ।
पार्कको हेरचाह र सरसफाइका लागि नागरपालिकाले दुई जना हेरालुसमेत राखेको छ । पार्कमा दुबो र फूल समय समयमा लगाउने हुँदा बाह्रै महिना सुन्दर देखिन्छ । पार्कमा परम्परागत स्लेट ढुङ्गा बिच्याएर थप आकर्षित बनाइएको छ ।
तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी










