Feature

गुरुङ पहिचान बोकेको भेडीगोठ संस्कृति र संघर्ष (तस्विरहरु)

Published

on

गुरुङ समुदायको पहिचानसँग गहिरोसँग जोडिएको परम्परागत भेडीगोठ प्रथा अहिले पनि यथावत रूपमा जगेर्ना हुँदै आएको छ।

वर्षायाममा हिमालको फेदी र उच्च खर्क – लेकसम्म पुग्ने भेडीगोठ हिउँद लागेसँगै बेशीतर्फ झर्ने चलन अहिले पनि निरन्तर छ।

यही क्रममा लमजुङको घलेगाउँ नजिकै भेटियो – ६१ वर्षीय गंगाबहादुर गुरुङको भेडीगोठ।

गंगाबहादुर विगत २५ वर्षदेखि भेडा पाल्दै आएका छन्।

यो पेसा उनी आफ्ना बुबाबाटै सिकेका हुन्।

“बाबा बितेपछि विदेश जाने कोसिस गरेँ, सफलता पाएनँ।

त्यसपछि २५ वर्षको उमेरदेखि खच्चड किनेँ, भेडा पाल्न थालेँ,” उनी भन्छन्। गत वर्षसम्म करिब ६ सय भेडा भएको गोठमा एकैपटक २५० भेडा मरेपछि अहिले संख्या ३५० आसपासमा झरेको छ। भेटनरीले दिएको औषधिले केही बचाउन सहज भए पनि क्षति ठूलो भएको गंगाबहादुरले बताए ।

बर्खा सकिएपछि उनी तल झर्न थालेका थिए, अहिले घलेगाउँ नजिकै आईपुगेका छन्।

“भेडाको साँढे ३-४ वटा भयो भने ठिकै हुन्छ ” उनी मुस्कुराउँदै भन्छन्।

उनका साथीको गोठमा पनि खसी र भेडा मिसिएको छ। “फाइदा भए बेच्ने, नत्र पालेर बस्ने ! यही हो हाम्रो जीवन,” उनी थप्छन्। गाउँमा अहिले जम्मा ३ वटा गोठ मात्र बचेका छन्।

पहिलेजस्तो धेरै गोठ एकैसाथ लेक–खर्कमा जाने चलन हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे। गंगाबहादुरको गोठ लमजुङ हिमालको फेदसम्म पुग्छ, यद्यपि सबै गोठालाले त्यत्रो उचाइसम्म भेडा लैजान सक्दैनन्।

गोठभित्रको जीवन कष्टकर छ ‘मान्द्रो, ‘ढोक्सा’ पकाउने भाँडाकुडा, ओछ्यान, कुकुर, साना पाठा बाँध्ने ठाउँ, बस्ने–सुत्ने टालटुलका सामग्री।

“हामी त बख्खु ओढ्छौँ, सिरक छैन-उनले गोठ भित्रको अवस्था देखाउदै भने।

गुरुङ समुदायमा भेडीगोठलाई पेसा मात्र होइन, संस्कार, संस्कृतिको एक आधार मानेर निरन्तर जोगाइँदै आएको छ।

लमजुङको घलेगाउँमा देखिएको भेडीगोठको रमाइलो दृश्य प्रदेशकै मौलिक गुरुङ परम्पराको जीवित प्रतीक हो।

गुरुङ समुदायको पहिचान, पहाडी जीवनको कठिनाइ र प्रकृतिसँगको सहअस्तित्व – यी सबै कथाहरू भेडीगोठसँग गाँसिएर आज पनि जीवन्त रहेको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version