Feature

चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा

Published

on

चन्द्रागिरि केबलकार तथा रिसोर्ट आजदेखि पुनः सञ्चालनमा आएको छ।

दुई महिनाअघि भदौ २४ गते भएको जेनजी आन्दोलन क्रममा आगजनी भएपछि केबलकार र रिसोर्ट अस्थायी रूपमा बन्द भएको थियो।

केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने भएको छ।

आन्दोलनमा भएको तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेपछि चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो।

त्यसयता चन्द्रागिरि हिल्सले केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयरका उच्च प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्यहरू पूरा गरी यात्रुहरूका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो।

चन्द्रागिरि हिल्सका अध्यक्ष हेम राज ढकालले सेवा पुनः सुचारु हुने अवस्थामा ल्याउन खटिएको प्राविधिक टिमलाई निरन्तर कडा मेहनत तथा उत्कृष्ट कार्यका लागि धन्यवाद दिँदै भक्तजन र पर्यटकहरूको धैर्यता प्रति आभार व्यक्त गरे।

अध्यक्ष ढकालले सेवा पुनः सुरु भएपछि काठमाडौँ उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आउने पर्यटक तथा भालेश्वर महादेवका श्रद्धालुहरू सबैलाई पुनः स्वागत गर्नु गरेका छन्।

सेवा बन्द हुनु अघि, चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुइ हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए ।

चन्द्रागिरि हिल्स व्यवस्थापनले सेवा सञ्चालन तथा सुचारु बनाउन स्थानीय समुदायले देखाएको निरन्तर सहयोग प्रति पुनः हार्दिक धन्यवाद व्यक्त गरेको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version