Feature

पर्यटकको नयाँ गन्तब्य च्योर्दोङ

Published

on

दोलखा जिल्लामा अवस्थित च्योर्दोङ समुद्र सतहदेखि ३,७०० मिटरको उचाइमा अवस्थित एक रमणीय हिलस्टेसन हो। धार्मिक, सांस्कृतिक, र प्राकृतिक महत्त्वले भरिएको यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले ‘जाऔं है च्योर्दोङ’ अभियान सुरु गरिएको छ। जिरीमा जन्मेहुर्केका युवा उद्यमी लिलाराम खड्काको नेतृत्वमा यो अभियान शुभारम्भ गरिएको हो।

‘जाऔं है च्योर्दोङ’ अभियान अन्तर्गत मंसिर २४ देखि २८ गतेसम्म च्योर्दोङको पदयात्रा सम्पन्न भयो । अभियानमा पत्रकार, पर्यटन व्यवसायी, समाजसेवी, र साहसिक खेलका प्रतिनिधिहरू,स्थानिय युवाहरुको सहभागी भएका थिए। अभियानको क्रममा ३६ जनाको जम्बो टोलीले च्योर्दोङ डाँडामा पदयात्रा गरेर साँझ त्यहीं क्याम्पिङ गरेका थिए । नेपाल साइकल संघका महासचिव रञ्जन राजभण्डारी नेतृत्वको ५ सदस्यीय टोलीले च्योर्दोङ र जिरी क्षेत्रमा साइकल पर्यटनको सम्भावनाबारे अध्ययन गरेका थिए।

यस अभियानका लागि लेखक, पत्रकार, फोटोग्राफर, साइक्लिस्ट, र स्थानीय व्यवसायीहरू सम्मिलित ३६ जनाको समूहले मंगलबार जिरीबाट च्योर्दोङ डाँडासम्म यात्रा गरेको छ।

च्योर्दोङ डाँडामा च्योर्दोङेश्वर महादेवको बास छ। यहाँबाट धौलागिरी , अन्नपूर्ण, माछापुछ्रे, मनास्लु, लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि हिमालसम्मका हिमशृंखला अवलोकन गर्न सकिन्छ। डाँडाबाट सूर्योदय र सूर्यास्तका अनुपम दृश्यले यहाँ पुग्ने जो कहिलाई मन्त्र मुग्ध बनाउछ, मन आन्दित बनाउछ , सबै थकान मेटाउछ ।

च्योर्दुङ हिन्दू र बौद्धमार्गीहरूको साझा तीर्थस्थल हो, जहाँ धार्मिक सहअस्तित्वको अनुपम उदाहरण देख्न सकिन्छ। यो स्थान दुवै सम्प्रदायका लागि पवित्र मानिन्छ, र हरेकले आ–आफ्ना परम्परा र विश्वासअनुसार पूजा गर्ने प्रचलन छ।

हिन्दू धर्मावलम्बीहरूले च्योर्दुङमा महादेवको विशेष पूजा गर्ने चलन छ। यो स्थानमा महादेवको पूजा गर्नाले रोग–व्याध नलाग्ने र वन्यजन्तुले चौपायालाई दुःख नदिने विश्वास गरिन्छ।

च्योर्दुङ हिन्दू र बौद्ध संस्कृतिहरूको अद्वितीय मिलनको प्रतीक हो, जहाँ प्रकृति, अध्यात्म, र परम्परा एकअर्कासँग जोडिएका छन्।


च्योर्दोङको पर्यटन सम्भावना र प्रचार अभियान
च्योर्दोङमा पर्यटनको अपार सम्भावना रहेको बताउँदै अभियान संयोजक लिलाराम खड्काले भने, “हामीले च्योर्दोङमा संसारभरका पर्यटकको ध्यानाकर्षण गराउन ‘जाऔं है च्योर्दोङ’ अभियान सुरु गरेका हौं। साथै, आवश्यक पूर्वाधार विकासका लागि स्थानीय सरकार र सरोकारवालालाई सक्रिय बनाउने प्रयास गर्दैछौं।”

नेपाल साकल संघका वरिष्ठ उपाध्यक्ष सुदिप पौडेलले च्योर्दोङलाई साहसिक पर्यटन र खेलकुदसँग जोडेर अघि बढाउन सके यसलाई विश्वस्तरीय गन्तव्य बनाउन सकिने बताए । “साहसिक पर्यटनले स्थानीय आम्दानी बढाउने र विदेशी पर्यटकलाई आकर्षित गर्ने क्षमता राख्छ,” उनले भने।
डोल्पाली शिक्षासेवी सेम्दुक लामाले च्योर्दोङको सुन्दरता बयान गर्दै भने, “डोल्पाभन्दा फरक अनुभव भयो। अन्नपूर्णदेखि नुम्बुरसम्मका हिमालको शृंखलाले मन लोभ्यायो। काठमाडौं नजिकै रहेको यो ठाउँ प्रचार र पूर्वाधार विकास गर्न सके आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ।”

लेखक लोकराज भट्टले भने, “च्योर्दोङ एक यस्तो स्थान हो जहाँ एकै ठाउँबाट लामो हिमशृंखला अवलोकन गर्न सकिन्छ। र पहाडी र हिमाली भूदृश्यले कथा सिर्जनाका अनेकौं सम्भावना दिन्छन्।”
‘जाऔं है च्योर्दोङ’ अभियान पर्यटन प्रवद्र्धन मञ्च नेपालको ब्यानरमा आयोजना गरिएको हो। डेढ दशकदेखि जिरी र दोलखाको पर्यटन विकासमा सक्रिय लिलाराम खड्काको नेतृत्वमा यो अभियानले उल्लेखनीय गति लिएको छ।

टोलीमा बरिष्ठ पत्रकार चन्द्रशेखर कार्की, समाजसेवी भक्तशंकर श्रेष्ठ, पर्यटनकर्मी शिक्षासेवी सेम्दुक लामा, र सगरमाथा आरोही लालबहादुर जिरेल लगायत सहभागी थिए। साथै, साइक्लिस्टहरू रञ्जन राजभण्डारी, सुदिप पौडेल, गोपाल श्रेष्ठ, सिर्जना अधिकारी, र चन्द्रा खड्काले पनि साहसिक पर्यटनको सम्भावना पहिचान गर्न योगदान दिए। साइक्लिस्ट टोलीले डाँडामा साइक्लिङ गर्दै यसको सम्भावना र चुनौतीहरूको अध्ययन गरेका थिए।

च्योर्दोङ यात्रामा पत्रकारहरू राजकुमार गजुरेल, सुरेन्द्र राना मगर, लेखक तथा पत्रकार रोहेज खतिवडा, लेखक लोकराज भट्ट, फोटो पत्रकार जीवन लामा, उज्जवल श्रेष्ठ र काजी थापा सहभागी थिए।
साथै पत्रकार तथा शिक्षक केन्द्र ज्योति खड्का, दोलाखाका फोटो पत्रकार जिवन लामा, व्यावसाय केशव कार्की (माडे) , युवा होटल व्यवासायी तेजेस्वी वस्नेत र सुमन खड्का र प्रहरी निरिक्षक गनेन्द्र हाङ्ग गजुमको पनि सहभागतिता थियो।

अभियानमा क्याम्पिङको व्यवस्थापन सगरमाथा आरोही लालबहादुर जिरेलको नेतृत्वमा १५ जना स्थानिय युवाहरुले गरेका थिए ।
च्योर्दोङ, जिरी नगरपालिकाको र गौरीशंकर गाउँपालिकाको शीरमा अवस्थित छ। हाल पर्यटकको लागि बासस्थानको (पाटी वा धर्मशाला) सुविधा छैन। हाल यहाँ केवल क्याम्पिङ गर्न सकिन्छ ।

अभियान टोलीले जिरीबाट डेढ घण्टाको जिप यात्रा गर्दै क्याङसी पोखरी पुगेका थिए । त्यसपछि तीन घण्टा पैदल यात्रा गर्दै च्योर्दोङ डाँडामा पुगे। यस यात्रा अनुभवले च्योर्दोङको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनको सम्भावना झल्काएको छ । यो अभियानले दोलखाको पर्यटनलाई प्रवर्द्धन गर्दै च्योर्दोङलाई देशकै महत्त्वपूर्ण गन्तव्यको रूपमा चिनाउन मद्दत गर्ने विश्वास गरिएको छ।

कसरी पुग्ने:
काठमाडौं–जिरी १८८ किमि। काठमाडौंबाट जिरीसम्म गाडीमा ६ घण्टा लाग्छ। जिरीबाट जिपमा १:५ घण्टा जिप यात्रामा क्याङ्सी। क्याङ्सीबाट ३ घण्टा पदयात्रामा च्योर्दोङ। साथै जिरी बजारबाट हिँडेर ५ घण्टा लाग्छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version