Fashion

नेपाली परम्परागत गहनाबाट प्रेरित ‘सुवर्ण रेखा’

avatar
Street Nepal

An editor at streetnepal


  • October 26, 2026
  • 5 पटक पढिएको

नेपाली परम्परागत गहना, संस्कृति र आधुनिक फेसनलाई एकैसाथ प्रस्तुत गर्ने उद्देश्यसहित ‘सुवर्ण रेखा’ डिजाइन सार्वजनिक गरिएको छ। ‘जर्नी अफ फेसन XXI’ अर्थात् २१औँ ग्राजुएसन फेसन शोअन्तर्गत ‘सिक्वेन्स ०३’ टिमले तयार पारेको यो डिजाइनले नेपाली मौलिक पहिचानलाई समकालीन फेसन शैलीमा प्रस्तुत गरेको छ।

‘अनन्तरूपवितानम्’ शीर्षकमा आयोजित फेसन शोको ‘नेपाली गिल्टेड स्पाइन : क्यारिङ कल्चर, क्राफ्टिङ आइडेन्टिटी’ अवधारणाअन्तर्गत तयार गरिएको यस डिजाइनको मुख्य विषय नेपाली परम्परागत गहना हो। डिजाइनले परम्परागत कला, नारी सौन्दर्य र आधुनिक पहिरनको संयोजनलाई प्राथमिकता दिएको छ।

‘सुवर्ण रेखा’ डिजाइनमा गाढा रातो र सुनौलो रङका कपडालाई प्रयोग गरिएको छ। शरीरमा मिल्ने गरी बनाइएको माथिल्लो पहिरन र लामो स्कर्टले आकर्षक स्वरूप दिएका छन्। काँधबाट फैलिएका र स्कर्टसम्म झरेका तहयुक्त रफलले डिजाइनलाई थप विशिष्ट बनाएका छन्। नेपाली प्यागोडा शैलीका मन्दिरबाट प्रेरित यी संरचनाले पहिरनमा आयाम, गति र सांस्कृतिक मौलिकता थपेका छन्।

डिजाइनमा प्रयोग गरिएका पखेटाजस्ता काँधका संरचनाले शक्ति, स्वतन्त्रता र पहिचानको उचाइलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छन्। परम्परागत गहनाबाट प्रेरित नेकलेस र बीच भागमा राखिएको विशेष आभूषणले आधुनिक पहिरनलाई नेपाली सांस्कृतिक आधारसँग जोडेको छ।

यस डिजाइनको अर्को आकर्षण हस्तनिर्मित सुनौलो पृष्ठभूमि हो। परम्परागत गहनाका घुमाउरा आकार, गोलाकार आकृति र झुन्डिएका सिक्रीबाट प्रेरित पृष्ठभूमिले पहिरनसँग सामञ्जस्य कायम गरेको छ। पहिरनमा प्रयोग गरिएका रफल र पृष्ठभूमिमा झुन्डिएका सिक्रीको बनोटले एकअर्काको स्वरूपलाई पूरक बनाएका छन्। यसले गहनालाई केवल सजावटका रूपमा नभई समग्र डिजाइनको अभिन्न अङ्गका रूपमा प्रस्तुत गरेको छ।

‘सुवर्ण रेखा’ डिजाइनमा मोडल स्नेहा ताम्राकारले प्रस्तुति दिएकी छन् भने यसको डिजाइन ‘सिक्वेन्स ०३’ टिमले तयार पारेको हो। डिजाइनमार्फत नेपाली परम्परागत गहना र वास्तुकलाबाट प्राप्त प्रेरणालाई आधुनिक कुट्युर शैलीमा रूपान्तरण गर्ने प्रयास गरिएको छ।

फेसन शो इन्टरनेसनल लेबर अर्गनाइजेसन (आईएलओ) र गार्मेन्ट एसोसिएसन नेपाल (जीएएन) को सहकार्यमा आयोजना गरिएको हो। फ्लेक्सटेक्स नेपाल पावर्ड बाई, रेड बुल नेपाल को-पावर्ड बाई रहेको कार्यक्रममा लिम कलेज, अमेरिकन ल्याङ्ग्वेज सेन्टर, एकेडेमी अफ आर्ट युनिभर्सिटी, डीआरजे डेनिम, बीप्रकाश र न्यु महालक्ष्मी टेक्सटाइललगायतको सहयोग रहेको छ।

कार्यक्रमको भेन्यु पार्टनर द प्लाजा, फोटोग्राफी पार्टनर क्याप्चर, सिनेमाटोग्राफी पार्टनर फोपाल प्रोडक्सन तथा क्रिएटिभ पार्टनर पिक्सार डिजाइन रहेका छन्।

Facebook Comments