Offbeat

राष्ट्रभावले ओतप्रोत गीत ‘देश हो बगैंचा’ 

Published

on

राष्ट्रप्रेम, एकता र सामूहिक जिम्मेवारीको भावनाले ओतप्रोत देशभक्ति गीत ‘देश हो बगैंचा’ सार्वजनिक भएको छ।

देशलाई सुन्दर बगैंचासँग तुलना गर्दै हरेक नागरिकलाई त्यसको ‘माली’ का रूपमा चित्रण गरिएको यस गीतले गुनासोभन्दा कर्म र समर्पणलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।

गीतकार बलदेव थापा ले लेखेको यस गीतमा बबिना भट्टराई को स्वर तथा संगीत रहेको छ। उनलाई स्वरमा प्रेक्षा लम्साल, ममता गुरुङ, केशव बादी, ऐ.जे अजु र निर्मल दियालीले साथ दिएका छन्। सामूहिक स्वर प्रयोगले गीतमा एकता र सहकार्यको भाव थपिएको छ। एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन् भने ड्रिम्स स्टुडियोमा प्रकाश के.सीले रेकर्ड, मिक्सिङ र मास्टरिङ गरेका छन्।

‘बबिना भट्टराई’ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा प्रेम खनालसहित कलाकारहरूको अभिनय देख्न सकिन्छ। भिडियोमा राष्ट्रिय झण्डासहित प्रस्तुत दृश्यहरूले राष्ट्रभावलाई थप सशक्त बनाएको छ।

गीतको अडियो इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेलले सञ्चालन गर्ने ‘मेचीदेखि महाकालीसम्म’ कार्यक्रममा प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गरिएको थियो। कार्यक्रममा सर्जकहरूले गीतको सन्देशबारे चर्चा गरेका थिए।

गीतमा नेपालको प्राकृतिक वैभव, हिमाल–पहाड–तराईको विविधता र सामाजिक सद्भावको महत्त्वलाई काव्यात्मक रूपमा प्रस्तुत गरिएको छ। “देश हो बगैंचा, हामी सबै हौं माली” भन्ने स्थायी हरफमार्फत गीतले राष्ट्रप्रेमलाई भावनात्मक नाराभन्दा माथि उठाएर जिम्मेवार नागरिकको भूमिकामा जोड दिएको छ।

निर्वाचनको माहोलबीच सार्वजनिक भएको यो गीतले सकारात्मक ऊर्जा थप्दै देश निर्माणमा सक्रिय सहभागिताको सन्देश प्रवाह गरेको छ। ‘देश हो बगैंचा’ केवल सांगीतिक प्रस्तुति मात्र नभई नागरिक दायित्व र एकताको अभियानात्मक अभिव्यक्ति बनेको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version