entertainment

‘रातो घेरा’को छायांकन सम्पन्न, मंसिर १८ देखि प्रदर्शनमा

Published

on

सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई एउटै कथाभित्र जोडेर तयार गरिएको नेपाली फिल्म **‘रातो घेरा–द रेड सर्कल’**को छायांकन सकिएको छ। दयाहाङ राई र मिरुना मगरको मुख्य अभिनय रहेको फिल्मको इन्डक्ल्याप काठमाडौंको बानेश्वरस्थित मण्डला थिएटरमा गरिएको हो।

निर्देशक अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्म सत्य घटनामा आधारित रहेको निर्माण पक्षले जनाएको छ। सामाजिक र भावनात्मक कथालाई रहस्यको तहसँग जोड्दै फिल्मले मानवीय सम्बन्धका जटिलता, संवेदना र जीवनका विभिन्न पाटोलाई पर्दामा प्रस्तुत गर्ने प्रयास गरेको छ।

फिल्ममा दयाहाङ र मिरुनासँगै सुनिल पोखरेल, भोला राज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डीबी गुरुङलगायत कलाकारको अभिनय छ। फिल्ममा नयाँ तथा अनुभवी कलाकारको ठूलो टोलीलाई एकसाथ प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

जीवन गुरुङ, कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन निर्माता रहेको फिल्ममा सुमन गुरुङ र खेम राना सह–निर्माताका रूपमा छन्।

राजु स्याङताङको कथा तथा पटकथा रहेको फिल्मलाई शिशिर बिसंखेले खिचेका हुन्। मनोज थापा मगर र सागर आलेको संगीत, श्रवण मुकारुङ र शिव हमालका गीत तथा मनोज थापा मगरकै पाश्र्व संगीत फिल्ममा समेटिएको छ। गीतमा सागर आले र शान्तिश्री परियारको स्वर रहेको छ भने प्रदीप लामा र जुना सुन्दासको अभिनयसमेत देख्न सकिनेछ।

निर्माता जीवन गुरुङका अनुसार फिल्मलाई कथावस्तुसँगै प्राविधिक र दृश्य प्रस्तुतिका हिसाबले पनि स्तरीय बनाउने प्रयास गरिएको छ।

काफिया फिल्म्सले वितरण गर्ने ‘रातो घेरा–द रेड सर्कल’ आगामी २०८३ मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। सत्य घटनामा आधारित कथा, दयाहाङ–मिरुनाको जोडी र बलियो कलाकार तथा प्राविधिक टोलीका कारण फिल्मप्रति दर्शकको चासो बढ्ने अपेक्षा निर्माण पक्षको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version