Offbeat
प्रथम तमू फोटो प्रतियोगितामा राम गुरुङ प्रथम
तमू ल्होसारको अवसरमा आयोजित प्रथम तमू फोटो प्रतियोगिता सम्पन्न भएको छ।
काठमाडौँस्थित तमू ह्युल छोँ धिँ गुरुङ राष्ट्रिय परिषदको परिसरमा आयोजित प्रतियोगितामा देशभरबाट गुरुङ समुदायमा रहेर पत्रकारितामा सक्रिय गुरुङ फोटो पत्रकारहरूले कैद गरेका गुरुङ समुदायको इतिहास, संस्कार र संस्कृतिलाई प्रतिबिम्बित गर्ने तस्बिरहरू समावेश गरिएको थियो।
देशभरबाट प्राप्त करिब १६८ तस्बिरमध्ये २५ तस्बिर छनोट गरिएको र तीमध्येबाट उत्कृष्ट पाँच तस्बिर चयन गरिएको संयोजक तथा तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका अध्यक्ष लाला गुरुङले जानकारी दिए।
तमू ल्होसारको अवसरमा अन्तर्राष्ट्रिय तमू परिषद्को आयोजनामा तथा तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको सहआयोजनामा प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा राम गुरुङले खिचेको गुरुङहरूको पवित्र तीर्थस्थल दुधपोखरीमा स्नान गर्न परम्परागत पोशाकमा तीर्थयात्रामा जाँदै गरेका गुरुङ समुदायका सदस्यहरूको तस्बिरले प्रथम स्थान हासिल गरेको छ।
प्रथम स्थान हँसिल गर्न सफल राम गुरुङको फोटो
यस्तै, युवराज गुरुङले कैद गरेको तमूहरूको आदिम थलो क्होला सोथरमा भेडा चराउँदै गरेको तस्बिर दोस्रो स्थानमा परेको छ भने आश गुरुङले खिचेको भुजुङ गाउँमा प्रस्तुत घाँटु नाचको तस्बिरले तृतीय स्थान प्राप्त गरेको छ।
दोस्रो स्थान हासिलगर्न सफल युवराज गुरुङको तस्विर
प्रतियोगितामा गुरुङ समुदायको मौलिकता झल्काउने नवीनबाबु गुरुङ र सुजन गुरुङका तस्बिरहरूले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।
तेस्रो स्थान हासिल गर्न सफल आश गुरुङको तस्विर
तमू ल्होसारको अवसरमा आगामी पुस १४ गते काठमाडौँको टुँडिखेलमा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने संयोजक लाला गुरुङले जानकारी दिएका छन्।
You must be logged in to post a comment Login