Feature
किसानलाई धान भित्र्याउने चटारो
चारैतिर दसैँको चहलपहल बढिरहेका बेला भक्तपुरका किसान भने पाकेको धान भित्र्याउन व्यस्त छन्। बजारमा किनमेल गर्नेको भीड बढेको छ भने खेतमा किसानलाई धान काट्ने र भण्डारण गर्ने चटारो परेको छ।
दसैँ र धान पाक्ने समय एकैपटक परेपछि किसानलाई चाडपर्वसँगै खेतीपातीको काम पनि सक्नुपर्ने दबाब छ। खेतमा पहेँलपुर भएको धान काट्ने, थ्रेसरबाट दाना छुट्याउने र बोरामा भरेर घर लैजाने काममा किसान जुटेका छन्।
कतिपय किसानले छिमेकीसँग अर्मपर्म गरेर धान काटिरहेका छन्। परिवारका सदस्य र छिमेकी मिलेर काम गर्दा धान भित्र्याउन सहज भएको छ।
बेमौसमी वर्षाले पाकेको बालीमा क्षति पुर्याउन सक्ने भएकाले पनि किसान सकेसम्म छिटो धान भित्र्याउन हतारिएका छन्। वर्षा भए धान भिज्ने, बाला झर्ने र उत्पादनको गुणस्तर घट्ने जोखिम हुन्छ।
वर्षभरि परिवारलाई खान पुग्ने अन्न सुरक्षित गर्ने समय भएकाले किसानका लागि धान भित्र्याउनु महत्त्वपूर्ण छ। त्यसैले बजारमा दसैँको किनमेल र घरघरमा चाडपर्वको तयारी चलिरहँदा भक्तपुरका खेतमा भने किसानको पसिना बगिरहेको छ।
दसैँको टीका र जमराको प्रतीक्षासँगै किसानलाई अहिले पाकेको बाली सुरक्षित रूपमा भकारीसम्म पुर्याउने हतारो छ।
You must be logged in to post a comment Login