निर्माणको अन्तिम चरणमा पेप्सीकोला फुटबल ग्राउण्ड
काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला फुटबल ग्राउण्ड निर्माणको अन्तिम चरणमा पुगेको छ।
११ ‘ए’ साइडको कृत्रिम घाँसे मैदानमा कार्पेट बिछ्याउने काम पूरा भइसकेको छ भने अब बालुवा भर्ने र अन्तिम फिनिसिङको काम बाँकी छ।
महानगरपालिकाका अनुसार अब करिब दुई महिनाभित्र सम्पूर्ण निर्माण सम्पन्न हुनेछ। कृत्रिम घाँसलाई टिकाउ बनाउने, पानी जम्न नदिने र खेलाडीलाई सुरक्षित रूपमा खेल्न मिल्ने वातावरण तयार गर्न बालुवा हालिनेछ।
साथै वर्षाको पानी सहज निकासका लागि ड्रेनेज प्रणाली र मैदान वरिपरि फुट ट्रयाक पनि निर्माण भइरहेको छ।
धुलाम्मे र अव्यवस्थित रहेको यस मैदान आधुनिक सुविधासहितको खेल मैदानमा रूपान्तरण हुँदैछ।
निर्माण सम्पन्न भएपछि स्थानीय खेलाडी, क्लब र फुटबल प्रतियोगिताका लागि यो मैदान महत्वपूर्ण पूर्वाधार बन्ने अपेक्षा गरिएको छ।
पेप्सीकोलासहित काठमाडौँका विभिन्न स्थानमा यस्तै कृत्रिम घाँसे फुटबल मैदान निर्माण गर्ने महानगरपालिकाको योजना पनि अन्तिम चरणतर्फ अघि बढिरहेको छ।









