Art

प्रकाश दुतराजको ‘शिरमै फूल माया’[भिडिओ]

avatar
Street Nepal

An editor at streetnepal


  • October 18, 2026
  • 27 पटक पढिएको

दसैंको मौका पारेर गायक तथा सर्जक प्रकाश दुतराज नयाँ सांगीतिक कोसेली ‘शिरमै फूल माया’ लिएर सार्वजनिक भएका छन्।

प्रेम, बिछोड र परदेशिनुपर्ने बाध्यताको कथा समेटिएको यस गीतमा मगर समुदायको मौलिक संस्कृति र विवाह संस्कारलाई पनि प्रस्तुत गरिएको छ।

गत बिहीबार बेलुका युट्युबमार्फत सार्वजनिक गरिएको झन्डै २४ मिनेट लामो भिडिओमा ‘शिरमै फूल माया’ र ‘सुगाचरी’ गरी दुई गीत समावेश छन्। दुवै गीतले एउटै कथालाई अगाडि बढाएका छन्।

भिडिओमा मगर समुदायको एक युवक र युवतीबीच प्रेम अंकुरिएको कथा देखाइएको छ। विवाहपछि परिवारको जिम्मेवारी र पहाडी गाउँको आर्थिक अभावका कारण युवक परदेशिन बाध्य हुन्छ। घाँसदाउरा, खेतीपाती, गोठालो र गाउँले जीवनका दृश्यसँगै मगर समुदायको भाषा, पहिरन र विवाह संस्कारलाई भिडिओमा समेटिएको छ।

निर्देशक नवीन घर्ती मगरले निर्देशन गरेको गीत ‘शिरमै फूल माया’मा प्रकाश र मेलिना राईको स्वर छ भने ‘सुगाचरी’मा प्रकाशसँग शान्तिश्री परियारले स्वर दिएकी छन्। दुवै गीतमा प्रकाशकै शब्द तथा संगीत छ।

भिडिओमा प्रकाश र तनु बलामी मगरले अभिनय गरेका छन्।

प्रकाश दुतराजको आफ्नै युट्युब च्यानलमा सार्वजनिक भएको म्युजिक भिडियोले छोटो समयमै दर्शकको ध्यान खिचेको छ।

आइतबार बेलुकासम्म भिडिओ युट्युबमा २० लाखभन्दा बढी पटक हेरिएको छ।

Facebook Comments