Art

पूर्वी हिमालयको कला र संस्कृति अब पाटनमा

Published

on

भुटान, नेपाल र सिक्किमका समकालीन कलाकारहरूलाई एकै थलोमा ल्याउने अन्तर्राष्ट्रिय कला प्रदर्शनी ‘रिवो: आइडेन्टिटी एन्ड कन्टिन्युटी’ आगामी अगस्ट महिनामा नेपालको पाटन म्यूजियममा आयोजना हुने भएको छ।

पूर्वी हिमालय क्षेत्रको साझा सांस्कृतिक पहिचान, परम्परा र निरन्तरतामाथि केन्द्रित यो प्रदर्शनी रियो कलेक्टिभ अफ सिक्किमको आयोजमा हालै भारतको सिक्किममा सम्पन्न भएको थियो। गान्तोकमा सफल प्रदर्शनपछि अब यो प्रदर्शनी नेपाली कला पारखीमाझ ल्याउन लागिएको आयोजक  मुस्कान राईले जानकारी दिइन्।

प्रदर्शनीमा भुटान, सिक्किम र नेपालका कलाकारहरूले तयार गरेका विविध चित्रकला, दृश्य कला तथा समकालीन सिर्जनाहरू प्रस्तुत गरिनेछन्।

आयोजकका अनुसार कलामार्फत पूर्वी हिमालय क्षेत्रका समुदायहरूबीच रहेका साझा अनुभव, सांस्कृतिक सम्बन्ध, पहिचान र समयसँगै निरन्तर रहँदै आएका परम्पराहरूलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ।

नेपालबाट कलाकार मनोज राई र सन्देश गुरूङ सहभागी रहेका छन्। उनीहरूसहित भुटान र सिक्किमका विभिन्न समकालीन कलाकारहरूको सिर्जना एकै स्थानमा अवलोकन गर्न पाइनेछ।

आयोजकहरूले यो प्रदर्शनीलाई केवल कला प्रदर्शन मात्र नभई पूर्वी हिमालय क्षेत्रका कलाकार, संस्कृति र समुदायबीच संवाद र सहकार्यको माध्यमका रूपमा लिएका छन्।

 प्रदर्शनीमार्फत दर्शकहरूले तीन देशका कलाकारहरूको दृष्टिकोणबाट पहिचान  र निरन्तरताका विषयलाई नयाँ ढंगले अनुभूति गर्न सक्ने अपेक्षा गरिएको छ।

कला, संस्कृति र हिमाली सभ्यताप्रति रूचि राख्ने नेपाली दर्शकका लागि ‘रिवो: आइडेन्टिटी एन्ड कन्टिन्युटी’ विशेष आकर्षण बन्ने विश्वास गरिएको छ। 

आयोजकका अनुसार आगामी अगस्टमा पाटन म्युजियममा हुने यो प्रदर्शनीले नेपाल, भुटान र सिक्किमका कलाकारहरूको सिर्जनात्मक यात्रालाई एउटै मञ्चमा प्रस्तुत गर्दै पूर्वी हिमालयको साझा सांस्कृतिक कथा उजागर गर्नेछ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version