lifestyle
न्युयोर्कमा तमू परिवारद्वारा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपाली मौलिक कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित अमेरिकाको न्युयोर्कमा तमू परिवार न्युयोर्क इन्कले विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा लोपोन्मुख गुरुङ संस्कृतिमा आधारित घाँटु नृत्य तथा कृष्ण चरित्र नृत्य प्रत्यक्ष प्रस्तुत गरिएको थियो।
प्रवासमा रहेर पनि पुर्ख्यौली पहिचानलाई जीवन्त राख्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा घाँटु गुरु सल्लाहकार लाल बहादुर गुरूङ र संस्थापक घाँटु गुरुस्यो चिनु घलेको विशेष निर्देशन रहेको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको घाँटु नृत्यमा श्वेता गुरूङ र शुष्मा गुरूङले ‘घाँटु सरी’ बनेर आकर्षक प्रस्तुति दिएका थिए।
कार्यक्रमलाई थप रोचक बनाउन निर्देशक तथा कलाकार भुपेन्द्र गुरूङको नेतृत्वमा वाद्यवादन तथा गायन टोली परिचालन गरिएको थियो। वाद्यवादनमा मनित गुरूङ, दिपक गुरूङ र प्रेम गुरूङले साथ दिएका थिए भने गायनतर्फ संस्थाका अध्यक्ष बिन प्रसाद घलेसहित गुरुङ तथा घले समुदायका कलाकारहरूको सामूहिक स्वरले कार्यक्रमस्थल गुञ्जायमान बनेको थियो।
समुदायका अग्रजदेखि युवा पुस्तासम्मको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रमले विदेशमा हुर्कँदै गरेको नयाँ पुस्तालाई आफ्नो संस्कार, संस्कृति र पहिचानसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
You must be logged in to post a comment Login