entertainment
तमुस्यो ह्युल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशन असोज १७–१८ मा
काठमाडौं । तमुस्यो ह्युल छोंज धी गुरुङ महिला राष्ट्रिय परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी असोज १७ र १८ गते काठमाडौंमा हुने भएको छ।
परिषद्ले मंगलबार पत्रकार सम्मेलनमार्फत महाधिवेशनको तयारीबारे जानकारी दिएको हो। परिषद्का अनुसार महाधिवेशनमा देशभरका पाँच प्रदेश, ४८ जिल्ला तथा आबद्ध संघ–संस्थाबाट करिब ३०० प्रतिनिधि सहभागी हुनेछन्।
महाधिवेशनको उद्घाटन असोज १७ गते बिहान ११ बजे मित्रनगर स्थित बिजि ब्याङ्क्वेटमा हुनेछ। सोही दिन दिउँसो ४ः३० बजे परिषद्को केन्द्रीय कार्यालय, मित्रनगरमा बन्दसत्र आयोजना गरिनेछ।
त्यसैगरी, नयाँ नेतृत्व चयनका लागि असोज १८ गते बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुने परिषद्ले जनाएको छ। सोही दिन दिउँसो ४ बजेदेखि ५ बजेसम्म घोषणा सभा आयोजना गरिनेछ।
परिषद्का अनुसार महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कार्यवाहक अध्यक्ष शिला कुमारी गुरुङको संयोजकत्वमा १४० सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। महाधिवेशनका लागि विभिन्न ११ वटा उपसमिति सक्रिय छन् भने तयारीको करिब ९७ प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ।
‘समृद्ध, समावेशी र मौलिक पहिचानसहितको समुन्नत समाज आजको आवश्यकता । आत्मनिर्भर, लैङ्गिक र जातीय समानतामा आधारित राष्ट्र निर्माणमा गुरुङ महिलाको सहभागिता’ भन्ने मूल नाराका साथ महाधिवेशन आयोजना गर्न लागिएको हो।
परिषद्ले महाधिवेशनमार्फत गुरुङ महिलाको सामाजिक, सांस्कृतिक, धार्मिक तथा आर्थिक सशक्तीकरणका साथै भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका विषयमा आगामी नीति तथा कार्यक्रम तय गर्ने जनाएको छ।
You must be logged in to post a comment Login