lifestyle
तीजको रमझम
हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो घुइँचो लागेको छ।
व्रत बसी निराहार रहेका महिलाहरू भगवान् शिवको पूजाअर्चनाका लागि लाइनमा बसेका छन्। पशुपतिनाथ क्षेत्र विकास कोषले दर्शनार्थीको सुविधाका लागि बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खुला गरेको छ।
पशुपतिनाथमा दर्शन गर्न आउने भक्तजनका लागि विशेष व्यवस्था गरिएको छ। मुख्य मन्दिर प्रवेशका लागि चार वटा लामको व्यवस्था गरिएको छ जसले गर्दा भक्तजनले सहज र व्यवस्थित रूपमा दर्शन गर्न सकून्। कोषका अनुसार, मुख्य मन्दिरभित्र भने आठ वटा लामको व्यवस्था गरिएको छ।
यस वर्ष दर्शनार्थीलाई राहत दिन पशुपतिनाथ परिसरमा पहिलो पटक कृत्रिम वर्षाको व्यवस्था गरिएको छ। गर्मी र भिडभाडबाट हुने असुविधालाई कम गर्न यो नयाँ पहल गरिएको कोषले जनाएको छ।
कोषले भक्तजनलाई बहुमूल्य गरगहना नलगाउन र साना बालबालिकालाई साथमा लिएर नआउन पनि आग्रह गरेको छ। साथै, सहज दर्शनका लागि कुनै पनि प्रकारको पासको व्यवस्था नगरिएको पनि स्पष्ट पारेको छ। तीजको अवसरमा पशुपतिनाथ परिसरमा चन्दन, टीका, र प्रसाद वितरणका लागि विभिन्न स्थानमा व्यवस्था मिलाइएको छ।
You must be logged in to post a comment Login