entertainment
ब्रोड पिकमा ज्यान गुमाएका आरोहीको सम्झनामा ‘ट्रिब्युट रन ५के’
- नेपाल फोटो लाइब्रेरी
- पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको सम्झनामा काठमाडौंमा ‘ट्रिब्युट रन ५के’ आयोजना गरिएको छ।
कपनको बालुवाखानीबाट सुरु भएको पाँच किलोमिटर दौड बौद्धस्थित बौद्धनाथ स्तुपामा पुगेर सम्पन्न भएको छ। दौडमा सहभागी आरोही, पर्वतारोहणप्रेमी, धावक तथा सर्वसाधारणले बौद्धनाथ पुगेर ब्रोड पिकमा ज्यान गुमाएका नेपाली आरोहीहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका छन्।
कार्यक्रममा ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका निर्मल पुर्जा (निम्स) नेतृत्वको नेपाली टोलीको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ। सहभागीहरूले दिवंगत आरोहीहरूको सम्झनामा दीप प्रज्ज्वलनसमेत गरेका छन्।
आयोजकका अनुसार ‘ट्रिब्युट रन ५के’ केवल दौड प्रतियोगिता नभई हिमाल आरोहणका क्रममा ज्यान गुमाएका आरोहीप्रति सम्मान र श्रद्धा व्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम हो। पर्वतारोहण क्षेत्रमा योगदान पुर्याएका आरोहीहरूको साहस, समर्पण र योगदानलाई स्मरण गर्दै उनीहरूको परिवारप्रति ऐक्यबद्धता जनाउन कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।
ब्रोड पिकमा भएको हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका आरोहीले ज्यान गुमाएका छन्। घटनाले नेपालको पर्वतारोहण क्षेत्रमा समेत गहिरो क्षति पुर्याएको छ। दिवंगत आरोहीहरूको सम्मानमा यसअघि पनि काठमाडौंमा विभिन्न श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना हुँदै आएका छन्।
कार्यक्रममा सहभागीहरूले आरोहीहरूको योगदानलाई स्मरण गर्दै हिमाल आरोहणलाई सुरक्षित, व्यवस्थित र जिम्मेवार बनाउन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन्।
उनीहरूले हिमालमा हुने जोखिम न्यूनीकरण, उद्धार प्रणालीको सुदृढीकरण तथा आरोहीको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।
You must be logged in to post a comment Login