Feature
नेपाली यात्रुले अब विश्वभरका होटल नेपाली मुद्रामै बुक गर्न सक्ने
नेपालको लोकप्रिय ट्राभल एप ट्रीप टर्बोले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म अगोडासँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारीसँगै नेपाली यात्रुले अब अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामै बुक गर्न सक्ने भएका छन्।
ललितपुरमा सार्वजनिक गरिएको जानकारीअनुसार, ट्रिप टर्बो प्रयोगकर्ताले अब अगोडाको विश्वव्यापी होटल नेटवर्कमा पहुँच पाउनेछन्, जहाँ विश्वभरका लाखौं होटल तथा आवास सुविधा उपलब्ध छन्। कम्पनीका अनुसार यस सहकार्यले नेपाली यात्रुका लागि एउटै स्थानीय प्लेटफर्ममार्फत अन्तर्राष्ट्रिय होटल खोज्ने, तुलना गर्ने र बुक गर्ने प्रक्रिया अझ सहज बनाउनेछ।
हालका वर्षहरूमा नेपालीहरूको अन्तर्राष्ट्रिय यात्राप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै यो सेवा विस्तार गरिएको ट्रिप टर्बोले जनाएको छ। कम्पनीका अनुसार अब प्रयोगकर्ताले घरेलु तथा अन्तर्राष्ट्रिय उडान, होटल, बस टिकट, गतिविधि तथा स्टे सेवा एउटै एपबाट लिन सक्नेछन्।
सन् २०२१ मा स्थापना भएको ट्रिप टर्बोले सेप्टेम्बर २०२४ मा आफ्नो मोबाइल एप सार्वजनिक गरेको थियो। कम्पनीका अनुसार एपले छोटो अवधिमै एन्ड्रोइड र आईओएसमा पाँच लाखभन्दा बढी डाउनलोड हासिल गरिसकेको छ।
सिंगापुर मुख्यालय रहेको अगोडा बुकिङ्ग होल्डिङ्ग अन्तर्गत सञ्चालन हुने विश्वव्यापी ट्राभल प्लेटफर्म हो, जसले विश्वभर ६० लाखभन्दा बढी होटल तथा आवास सेवामा पहुँच उपलब्ध गराउँदै आएको छ।
You must be logged in to post a comment Login