Feature

पाटनमा कार्तिक नाचमा देखाइयो नरसिंह अवतार

ललितपुरको पाटन दरबार स्क्वायरस्थित कार्तिक डबलीमा जारी ऐतिहासिक कार्तिक नाचमा आइतबार साँझ नरसिंह अवतार अर्थात् हिरण्यकश्यपु वधको प्रसङ्ग प्रस्तुत गरिएको छ।

कार्तिक नाचको दशौँ दिन कलाकारहरूले भगवान् विष्णुको नरसिंह अवतारको कथा नृत्य र अभिनयमार्फत प्रस्तुत गरेका हुन्। धार्मिक आस्था र नेवारी मौलिक कलासँग जोडिएको यो नाच हेर्न कार्तिक डबलीमा दर्शकहरूको उपस्थिति थियो।

नेपाल संवत् ७६१ अर्थात् सन् १६४१ मा मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको मानिने कार्तिक नाच नेपालको पुरानो सांस्कृतिक परम्परामध्ये एक हो। यसमा भगवान् विष्णुका विभिन्न अवतार तथा पौराणिक कथाहरूलाई नृत्य र अभिनयमार्फत देखाइन्छ।

कार्तिक नाच संरक्षण समितिको आयोजनामा हरेक दिन साँझ ७ बजे प्रस्तुत हुँदै आएको यस वर्षको नाचमा विभिन्न धार्मिक प्रसङ्ग समेटिएका छन्। सोमबार वस्त्रहरण लीला र मंगलबार दधि लीला प्रस्तुत गरेसँगै यस वर्षको कार्तिक नाच समापन हुनेछ।

धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको कार्तिक नाच नेवारी कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउने महत्त्वपूर्ण माध्यम बनेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

Facebook Comments