Feature
काठमाडौंमा गर्मी
पछिल्ला केही दिन काठमाडौंसहित देशभर तापक्रम बढेको छ।
बिहीबार काठमाडौंको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको थियो। शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियस पुग्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।
काठमाडौंमा यसवर्षको तापक्रम ३४.४ डिग्री सेल्सियस भन्दा उकालो लागेको छैन। काठमाडौंमा अहिलेसम्मकै उच्च तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको छ। २०४६ वैशाख २५ गते उक्त तापक्रम मापन भएको थियो।
काठमाडौंमा शुक्रबार अपराह्नपछि वर्षा हुने मानन्धरले बताइन्। ‘आज अपराह्नपछि मात्रै वर्षाको सम्भावना छ,’ उनले भनिन्।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा हल्का वर्षा भएको छ। पछिल्लो तथ्यांकअनुसार गोदावरीमा २.८, सुन्दरीजलमा १.६, बूढानीलकण्ठमा १.८ मिलिमिटर वर्षा भएको छ।
धनगढीमा बिहीबार तापक्रम ४४ डिग्री सेल्सियस नाघेको थियो। बिहीबार साँझ पौने ६ बजे अद्यावधिक गरिएको विवरणअनुसार धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको थियो।
वैशाख मसान्तमा काठमाडौंको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १५.८ डिग्री सेल्सियस रहेको थियो। त्यसयता तापक्रम लगातार बढिरहेको छ।
You must be logged in to post a comment Login