News
गोरखाबाट हनुमानढोकामा फूलपातीसहितको डोली पठाइयो
गोरखा । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित हनुमानढोका दरबारमा पठाइएको छ।
शुभसाइतअनुसार बिहान ९ बजे विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित डोली बिदाइ गरिएको हो। गोरखा दरबारका सुसारेहरूले बोकेर ल्याएको डोली सरकारी गाडीमार्फत काठमाडौँ पठाइएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिनुभयो।
गोरखाबाट पठाइएको फूलपाती शनिबार साँझ हनुमानढोकामा हर्षबढाइँसहित भित्र्याउने परम्परा छ। ऐतिहासिक मान्यताअनुसार पृथ्वीनारायण शाहले काठमाडौँबाट राजकाज सुरु गरेपछि गोरखाबाट हरेक वर्ष फूलपाती पठाउने परम्परा चल्दै आएको हो।
यस परम्पराले गोरखा दरबार र हनुमानढोका दरबारबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ।
तस्बिर : गरिमा श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी



