Offbeat

लगनखेलमा पुननिर्माण हुदै गरेको सप्तपाताल पोखरी

Published

on

ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ।

नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन हटाइएपछि पोखरीलाई त्यसको पुरानै लिच्छविकालीन स्वरूपमा फर्काउने प्रयास भएको हो।

ललितपुर महानगरपालिकाले यो महत्वपूर्ण पुनर्निर्माणको जिम्मा लिएको छ।

सर्वोच्च अदालतले नमूना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको जग्गा दर्ता खारेज गरेपछि र १४ रोपनी जग्गाको लालपुर्जा सप्तपातालको नाममा बनेपछि पुनर्निर्माणको बाटो खुलेको हो।

लगनखेल बसपार्क नजिकै अशोक स्तूपसँगै रहेको सप्तपाताल पोखरी कुनै समय करिब २०० रोपनी क्षेत्रफलमा फैलिएको थियो।

तर, समयक्रमसँगै अतिक्रमणका कारण यसको क्षेत्रफल डेढ-दुई रोपनीमा खुम्चिएको थियो। बचेको भाग पनि पानीविहीन भई घाँसघारी र फोहोरको थुप्रोमा परिणत भएको थियो।

यो हराउँदै गएको सम्पदालाई पुरानै अवस्थामा फर्काउन स्थानीय पूर्ण स्थापितले १५ वर्ष लामो कानुनी लडाइँ लडेका थिए। विशेषगरी, नमूना मच्छिन्द्र स्कुलले १४ रोपनी जग्गा अतिक्रमण गरेको थियो। पूर्ण स्थापितले पोखरीको जग्गा पोखरीलाई नै फर्काउन २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

२०७६ असार २३ गते, सर्वोच्च अदालतले अतिक्रमणमा परेको जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश दियो। सोही आदेशको पालना गर्दै हाल सप्तपाताल पोखरीलाई त्यसको ऐतिहासिक स्वरूपमा फर्काउने काम भइरहेको छ, जसले गर्दा ललितपुरको एउटा महत्वपूर्ण सम्पदाले नयाँ जीवन पाएको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version