तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन सुरु
काठमाडौं — तमू ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को पाँचौं राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ।
महाधिवेशनको उद्घाटन गुरुङ समुदायका परम्परागत धार्मिक अगुवा — प्हच्यु, क्ह्याब्रे, बोन्पो लामा र लामाहरुको मन्त्रोच्चारणसहित सम्पन्न भयो। उद्घाटन समारोह प्रतिनिधिसभाका अध्यक्ष (सभामुख) देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा गुरुङ समुदायका विभिन्न प्रबुद्ध व्यक्तिहरुको उपस्थिति पनि रहेको थियो।
कार्यक्रममा सम्बोधन गर्दै सभामुख घिमिरेले देशमा राजनीतिक अस्थिरताको फाइदा उठाउँदै केही तत्वहरूले जनतामा निराशा फैलाउने काम गरिरहेको बताउनुभयो। यस्ता तत्वहरूले जातजाति र संस्कृतिबीच विग्रह ल्याउने प्रयास गरिरहेका कारण सतर्क रहनु आवश्यक भएको उहाँको भनाइ थियो। उहाँले समावेशी विकास र सामाजिक रुपान्तरणको यात्रामा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
“विविधताभित्रको एकता नै अहिलेको राष्ट्रको मेरुदण्ड हो,” उहाँले भन्नुभयो, “यसलाई अझ बलियो बनाउन तमू ह्युला जस्ता जातीय संस्थाहरूको भूमिका अझ सशक्त हुन आवश्यक छ।”
गुरुङ संस्कृतिलाई झल्काउने विविध सांस्कृतिक झाँकीसहित सुरु भएको यो महाधिवेशनमा नेपालभरिका ४७ जिल्लाबाट करिब ७ सय प्रतिनिधिहरूको सहभागिता रहेको छ।
पाँचौं राष्ट्रिय महाधिवेशनले गुरुङ समुदायका हकहितमा काम गर्ने नयाँ नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमका वक्ताहरूले महाधिवेशन सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।














