News

तमु प्ये ल्हु संघ यूकेको २६ लाख ५० हजार सहयोग

avatar
Street Nepal

An editor at streetnepal


  • October 15, 2026
  • 84 पटक पढिएको

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई राहत पुर्‍याउन बेलायतमा रहेका गुरुङ समुदायले २६ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्। तमु प्ये ल्हु संघ यूकेको पहलमा संकलित उक्त रकम बुधबार प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।

संघका पूर्वअध्यक्ष सोम त्होर्जे गुरुङको नेतृत्वमा आएको टोलीले गृहमन्त्री सुधन गुरुङलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरेको हो। पुल्चोकस्थित गृहमन्त्रीको निवासमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरिएको थियो।

संघका अनुसार बेलायतमा रहेका संघका सदस्य, आमा समूह तथा ग्लोष्टारस्थित वुलस्टर्न गोर्खा बार एन्ड रेस्टुरेन्टमार्फत स्थानीय समुदायबाट रकम संकलन गरिएको हो। विदेशमा रहेर पनि मातृभूमिमा आइपर्ने विपद्मा सहयोग गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको संघले जनाएको छ।

पूर्वअध्यक्ष सोम त्होर्जे गुरुङले संघले विपद्का बेला राहत उपलब्ध गराउनुका साथै शिक्षा, स्वास्थ्य र परोपकारी क्षेत्रमा पनि सहयोग गर्दै आएको बताए। यसअघि भूकम्पबाट प्रभावितलाई सहयोग गर्नुका साथै कोभिड महामारीका बेला राहत वितरण गरिएको उनले जानकारी दिए।

सन् २००५ मा स्थापना भएको तमु प्ये ल्हु संघ यूके बेलायतमा दर्ता भई सञ्चालनमा रहेको संस्था हो। गुरुङ भाषा, संस्कृति र परम्पराको संरक्षणसँगै नेपालमा सामाजिक सेवाका काममा समेत सक्रिय रहेको संघले जनाएको छ।

Facebook Comments