Feature
पहिलो तमू फोटो प्रतियोगिता सम्पन्न
काठमाडौं — तमू ल्होसार २०८२ को अवसरमा अन्तर्राष्ट्रिय तमू काउन्सिल (आईटीसी) ले तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (एटजोन) सँगको सहकार्य तथा तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौंको समन्वयमा पहिलो तमू फोटो प्रतियोगिता आयोजना गरेको छ।
आईटीसीका महासचिव अधिवक्ता राजु गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आईटीसीकी सचिव रुपा गुरुङले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङ, तमू ल्होसार मूल आयोजक समिति २०८२ का अध्यक्ष धर्मराज राजु गुरुङलगायतको उपस्थिति थियो।
प्रतियोगितामा गुरुङ समुदायका फोटो पत्रकारहरूले विभिन्न गुरुङ बस्तीमा खिचेका १६८ फोटो सहभागी गराएका थिए। तीमध्ये गुरुङ संस्कृति, परम्परा र रीतिरिवाज झल्किने २५ फोटो छनोट गरी प्रदर्शनीमा राखिएको थियो।
प्रदर्शित फोटोमध्ये उत्कृष्ट पाँच फोटो चयन गरी प्रथम, द्वितीय, तृतीय र दुई सान्त्वना पुरस्कार प्रदान गरिएको हो। प्रतियोगितामा राम गुरुङ प्रथम, युनिश गुरुङ द्वितीय र आश गुरुङ तृतीय भए। सान्त्वना पुरस्कार नवीनबाबु गुरुङ र सुजन गुरुङले प्राप्त गरेका छन्।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १२ हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो भने सान्त्वना पुरस्कार विजेतालाई जनही तीन–तीन हजार रुपैयाँ प्रदान गरिएको थियो। पुरस्कार वितरण तमू ल्होसार महोत्सवअन्तर्गत पुस १४ गते काठमाडौंको टुँडिखेलमा गरिएको छ।

संस्थागत रूपमा पहिलो पटक आयोजना गरिएको यो फोटो प्रतियोगिता ऐतिहासिक र अर्थपूर्ण भएको आयोजकले बताएका छन्। फोटो प्रदर्शनीमार्फत तमू (गुरुङ) समुदायको संस्कृति, जीवनशैली र पहिचानलाई उजागर गरिएको तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङले बताए।
अन्तर्राष्ट्रिय तमू काउन्सिलले आगामी दिनमा थप विधा समेट्दै अझ बृहत् फोटो प्रतियोगिता तथा प्रदर्शनी आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।




entertainment
सिद्धार्थ आर्ट ग्यालरीमा पवित्र वैभव
काठमाडौंको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘Sacred Splendor’ (पवित्र वैभव) नामक परम्परागत कला प्रदर्शनी सुरु भएको छ।
ग्यालरीको ३९औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस प्रदर्शनीलाई प्रदीप शाक्यले क्युरेट गर्नुभएको हो।
प्रदर्शनीमा काठमाडौं उपत्यकामा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका धातु, काठ, ढुंगा र चित्रकलाका माध्यमबाट निर्मित देवीदेवताका आकृतिहरू राखिएका छन्।
यसको मुख्य विशेषता हिन्दू र बौद्ध परम्पराका देवीदेवतालाई एउटै छानामुनि प्रस्तुत गर्नु हो। यहाँ भैरव र गणेशका साथै प्रज्ञापारमिता, अवलोकितेश्वर, तारा र वसुन्धराजस्ता प्रतिमाहरू देख्न सकिन्छ, जसले उपत्यकाको गहिरो धार्मिक सहअस्तित्व झल्काउँछ।
क्युरेटर शाक्यका अनुसार यहाँका मूर्तिहरू केवल कलाकृति वा विगतका अवशेष मात्र होइनन्; यी धार्मिक विधिद्वारा आह्वान गरिने र पुजिएका ‘जीवित उपस्थिति’ हुन्। यस कला परम्परामा व्यक्तिगत प्रतिभाभन्दा पनि पारिवारिक सीप र पुर्ख्यौली ज्ञानको ठूलो भूमिका हुन्छ, जुन आजका कलाकारले समेत निरन्तरता दिइरहेका छन्।
सन् १९८७ मा स्थापित यस ग्यालरीले ६०० भन्दा बढी प्रदर्शनी गरिसकेको छ। यस प्रदर्शनीमा अमिर शाक्य, उजया बज्राचार्य, सिवाली शाक्यलगायतका कलाकारका सिर्जनाहरू समेटिएका छन्। ‘Sacred Splendor’ केवल एक कला प्रदर्शनी मात्र नभई काठमाडौं उपत्यकाको हजारौँ वर्ष पुरानो सांस्कृतिक स्मृति, आस्था र परम्परागत शिल्पको ज्यूँदो दस्तावेज बनेको छ।









entertainment
बबरमहलमा राखियो आकाशे पुल
काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल जडान गरिएको छ। गएराति सडकमा पुलको मुख्य संरचना फिट गरिएको हो।
अब केही दिनभित्रै पुल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। पुलमा भर्याङ राख्ने काम भने बाँकी छ। भर्याङ जडान भएपछि पैदलयात्रीले सहज रूपमा पुल प्रयोग गर्न सक्नेछन्।
जिल्ला अदालत अगाडिको व्यस्त सडकमा दैनिक ठूलो संख्यामा पैदलयात्रीले सडक पार गर्ने गर्छन्। आकाशे पुल सञ्चालनमा आएपछि सडक पार गर्दा हुने जोखिम कम हुनुका साथै पैदलयात्रीलाई निकै सहज हुने अपेक्षा गरिएको छ। साथै, बबरमहल क्षेत्रको ट्राफिक व्यवस्थापनमा पनि यसले सहयोग पुग्ने विश्वास गरिएको छ।




entertainment
आकाशबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशन
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। पार्टी सभापति गगनकुमार थापाले महाधिवेशन उद्घाटन गरेका हुन्।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित सुरु भएको महाधिवेशनमा देशभरबाट हजारौँ प्रतिनिधि सहभागी भएका छन्।
देशभरबाट आएका हजारौँ प्रतिनिधि, नेता तथा कार्यकर्ताको उपस्थितिले खुलामञ्च भरिभराउ देखिएको छ। ड्रोनबाट हेर्दा महाधिवेशनका लागि तयार पारिएको विशाल संरचना र सहभागीहरूको भीडले खुलामञ्चको दृश्य अझ आकर्षक देखिएको छ।
आज उद्घाटन सत्र सम्पन्न भएपछि सोमबार र मंगलबार बन्दसत्र सञ्चालन हुनेछ। नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन हुने कार्यतालिका छ।








-
entertainment2 weeks ago१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
-
entertainment2 weeks agoतमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग
-
entertainment4 weeks agoभरतपुरको मुटु चौविसकोठी
-
entertainment4 weeks ago‘पेन्सन पट्टा’को दोस्रो गीत ‘ऐना हेरेर कपाल कोरेर
-
entertainment3 weeks agoबाढीपीडितको सहयोगका लागि तमु धिँ यूकेको १०० किलोमिटर ट्रेल वाक
-
entertainment3 weeks ago‘रातो घेरा’को छायांकन सम्पन्न, मंसिर १८ देखि प्रदर्शनमा
-
entertainment4 weeks agoकाठमाडौँ विश्वविद्यालयमा गुरुङ भाषामा स्नातकोत्तर डिप्लोमा कार्यक्रम
-
entertainment4 weeks agoरिस्ताको नृत्य यात्रा


You must be logged in to post a comment Login