Offbeat

नागपञ्चमी पर्व

avatar
Street Nepal

An editor at streetnepal


  • July 31, 2025
  • 6078 पटक पढिएको

नागपञ्चमी पर्व मंगलबार परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

‘नाग पूजाको प्रचलन वैदिककालदेखि सुरू भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ,’ उनले भने।

प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको डा भट्टराईले बताए। नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि छ।

आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ।

आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ। यी स्थानमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ।

वैज्ञानिक रूपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ। नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरू हुन्छ।

Facebook Comments