Feature
गुरुङ समुदायले मनायो “माङी त्हि”
गुरुङ (तमु) समुदायले श्रद्धा र उत्साहका साथ मनाउने धार्मिक तथा पवित्र चाड माङी त्हि का अवसरमा काठमाडौंमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
गुरुङ पात्रोअनुसार हि क्हुन्द ङ्हि च्यु लसि त्हि का दिन सृष्टिकर्ता माङी अर्थात् सात आमाहरूको उत्पत्ति भएको विश्वास गरिन्छ। ‘माँ’ अर्थात् आमा र ‘ङि’ अर्थात् सात आमाहरूको जन्मदिनका रूपमा मनाइने माङी त्हि नेपालसहित विश्वभर छरिएर रहेका गुरुङ समुदायले भव्य रूपमा मनाउने परम्परा रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष धनमान गुरुङले गुरुङ समुदायको सांस्कृतिक तथा धार्मिक दर्शनमा १२ खे, ९ महागुरु र ७ माङीको गहिरो महत्व रहेको विषयमा विस्तृत व्याख्या गरे। उनले यी अंकहरू केवल प्रतीक नभई शक्ति एकीकरण, सामाजिक सन्तुलन र निर्णय प्रक्रियासँग प्रत्यक्ष जोडिएको बताए।
उनका अनुसार १२ खे अर्थात् १२ आजिखे गुरुङ समुदायका पुर्खासँग सम्बन्धित संरचना हुन् भने ९ महागुरु सर्वमान्य, त्रिकालदर्शी र दिशानिर्देशक शक्तिका रूपमा व्याख्या गरिन्छन्, जसले उत्तर, दक्षिण, पूर्व र पश्चिम चारै दिशाबाट समाजलाई मार्गनिर्देशन गर्ने विश्वास छ।

विशेषगरी ७ माङी (आमा) को भूमिकालाई अत्यन्त महत्वपूर्ण भएको भन्दै अध्यक्ष गुरुङले प्राचीन गुरुङ समाजमा सामुदायिक तथा पारिवारिक निर्णय महिलाबाटै हुने गरेको उल्लेख गरे। महिलाभित्र निहित “अदृश्य शक्ति” नै समाज सञ्चालनको आधार भएको उनको भनाइ थियो।
उनले उदाहरण दिँदै १२ खे र ९ महागुरुले शक्ति एकीकरणका लागि अन्तिम निर्णयको अधिकार ७ माङीलाई दिएको उल्लेख गरे। सात आमाहरूले १२ खेभित्र रहेका पाँच फैलु (समूह) मा समान प्रतिनिधित्व हुने गरी सन्तुलन कायम गरेको उनले बताए। यसलाई उनले शक्ति एकीकरणको ऐतिहासिक नमुना भन्दै व्याख्या गरे।
गुरुङ समुदायमा पानीलाई सृष्टि, धर्ती र आमाको प्रतीकका रूपमा पूजा गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले घले गाउँ नजिकै रहेको सात कन्या मन्दिर क्षेत्रमा ७ माङीका प्रतीकात्मक कुण्डहरू रहेको जानकारी दिए। त्यस्तै बुटवल क्षेत्रमा पनि माङीको प्रतीक राखिएको उनले बताए।

राजधानीको गोंगबुस्थित तमु ह्युल छोंज धीं को सभाहलमा आयोजित कार्यक्रम तमूस्यो ह्युला छोँज धीं गुरुङ महिला राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको व्यवस्थापन परिषद्का काठमाडौं र ललितपुर जिल्ला कार्यसमितिले गरेका थिए।

कार्यक्रममा गुरुङ जातिको मौलिक कला, भेषभूषा र संस्कृतिसँग सम्बन्धित विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो। आयोजकले नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्दै परम्पराको संरक्षण, प्रवर्द्धन र ऐतिहासिक तथा धार्मिक महत्वबारे थप अध्ययन–अनुसन्धान गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।










Feature
आशिमाला प्लान्ट्स: प्रकृति र संस्कृतिको संगम
राजधानी काठमाडौँ शहरबाट नजिकै, रिङ्गरोड छोडेर करिव २ किलोमिटर टाढा, हरियाली र थरीथरीका फुलहरुले भरिएको शान्त वातावरणमा छ ‘आशिमाला प्लान्ट्स’।
प्रकृति प्रेमीहरूका लागि बोटबिरुवा, अर्गानिक जीवनशैली र रैथाने संस्कृतिलाई एउटै थलोमा जोड्ने प्रयासस्वरूप चेली गुरुङले यसलाई स्थापना गरेकी हुन्।
परिवारको साथ र सहयोगमा सुरु गरिएको ‘आशिमाला’ नाम आफैंमा अर्थपूर्ण छ। गुरुङ भाषामा ‘आशिमाला’ लाई शुभ वा शुभकामनाको रुपमा लिइन्छ। यही भावनालाई आत्मसात गर्दै चेलीले बोटबिरुवामार्फत मानिसलाई प्रकृतिसँग जोड्ने लक्ष्य राखेकी छन्।
‘आशिमाला प्लान्ट्स’मा विभिन्न प्रकारका फूल फुल्ने तथा नफुल्ने (अर्नामेन्टल) बिरुवाहरू, साथै सकुलेन्ट प्रजातिका आकर्षक बिरुवाहरू उपलब्ध छन्। धेरैजसो बिरुवाहरू यहीँ उत्पादन गरिन्छ भने केही बाहिरबाट ल्याएर पनि बिक्री–वितरण गरिन्छ। गमला र आवश्यक सामग्रीसमेत एउटै ठाउँमा पाइने भएकाले यो स्थान बगैँचा र इनडोर प्लान्टप्रेमीहरूका लागि सहज गन्तव्य बन्दै गएको छ।
बोटबिरुवामै सीमित नरही, चेलीले ‘चेलीको चिया’मार्फत खानपान र संस्कृतिलाई पनि जोड्ने प्रयास गरेकी छन्। यहाँ गुरुङ समुदायका रैथाने परिकारहरूलाई प्राथमिकता दिइन्छ। चामलको जाँड ‘कोँइपा’, कोदोबाट बनाइने ‘नारेपा’ लगायतका परम्परागत पेय पदार्थ, साथै घिउमा तयार गरिने सेलरोटी यहाँका विशेष आकर्षण हुन्। सँगसँगै शाकाहारी र मांसाहारी परिकार, खाजा सेट र हल्का पेय पदार्थहरू पनि उपलब्ध छन्।
चेली गुरुङ यसअघि लामो समय सामाजिक क्षेत्रमा सक्रिय थिइन्। उनले करिब एक दशक लैंगिक समानता र द्वन्द्व व्यवस्थापनको क्षेत्रमा काम गरेकी अनुभव छ। त्यही अनुभवका बीचमा उनले आत्मशान्तिको खोज गर्दै प्रकृतिसँग नजिकिने बाटो रोजिन्, जसको परिणाम आज ‘आशिमाला प्लान्ट्स’को रूपमा देखिएको छ।
उनी भन्छिन्, बोटबिरुवाले मानिसलाई शान्त राख्न र सकारात्मक ऊर्जा दिन महत्त्वपूर्ण भूमिका खेल्छ। यही सन्देश फैलाउन आफूले यो प्रयास सुरु गरेको उनको भनाइ छ।












Feature
नेपालकै अग्लो पुल फास्ट ट्रयाकमा निर्माण
काठमाडौं–तराई/मधेश द्रुतमार्ग (केटिएफटी) अन्तर्गत नेपालकै सबैभन्दा अग्लो पुल काठमाडौं–तराई/मधेश फास्ट ट्रयाक मा निर्माणाधीन रहेको छ।
मकवानपुरको लेनडाँडा र धोद्रे क्षेत्रमा बनिरहेको उक्त पुलको उचाइ करिब ८२ मिटर रहेको छ, जुन धरहरा भन्दा पनि अग्लो हो। करिब २७० देखि ३३९ मिटर लम्बाइको यो आधुनिक बक्स डिजाइन पुल भूकम्प प्रतिरोधी प्रविधिमा आधारित छ।
टनेलको मुख नजिक निर्माण भइरहेको यस पुलमा दुई समानान्तर संरचना रहनेछन्, जसले दुवै दिशामा सवारी आवतजावत सहज बनाउनेछ। हाल पुलको ढलान र संरचनागत काम अन्तिम चरणमा पुगेको छ।
नेपाली सेनाको नेतृत्वमा अघि बढिरहेको परियोजनामा समग्र भौतिक प्रगति करिब ४५ प्रतिशत पुगेको छ। निर्धारित समयमै सम्पन्न भएमा यो पुल नेपालकै पूर्वाधार विकासको प्रतीक बन्ने अपेक्षा गरिएको छ।



Feature
बल्खु चोक: सडक, बजार र शिक्षाको केन्द्र
काठमाडौंको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित बल्खु चोक ऐतिहासिक महत्व बोकेको प्रमुख यातायात केन्द्रका रूपमा परिचित छ।
‘बल्खु’ नामको उत्पत्तिबारे विभिन्न जनश्रुति पाइन्छन्। कतिपयका अनुसार हिमाली भेगका मानिसले लगाउने ‘बख्खु’ शब्दबाट अपभ्रंश भई ‘बल्खु’ बनेको हो भने, नजिकै बग्ने बल्खु खोलाका कारण पनि यो नाम रहन गएको मानिन्छ। लिच्छविकालमै यो क्षेत्र महत्वपूर्ण सुरक्षा विन्दु र व्यापारिक केन्द्रका रूपमा विकसित भएको इतिहास छ।
हाल बल्खु चोकबाट चक्रपथ हुँदै कलङ्की, एकान्तकुना र कोटेश्वर पुग्न सकिन्छ भने बल्खु–दक्षिणकाली सडकमार्फत चोभार, फर्पिङ हुँदै दक्षिणकाली मन्दिरसम्म जोडिन्छ। यस्तै, यहाँबाट कीर्तिपुर र त्रिभुवन विश्वविद्यालय क्षेत्र पनि सजिलै पुगिन्छ।
आज बल्खु चोक देशकै ठूलो तरकारी तथा फलफूल बजार र त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका कारण अत्यन्त व्यस्त केन्द्र बनेको छ।
बल्खु चोक र यस वरपरको क्षेत्रको ड्रोन फोटो हेरौं-








-
Auto1 week agoहाइब्रिड बाइक र स्कुटरसहित यामाहा ब्लु फेस्ट (तस्विरहरु)
-
Offbeat2 weeks agoगुरुङ सुशान्तलाई यस वर्षको ‘गौरी स्रष्टा सम्मान पुरस्कार
-
Fashion3 weeks agoविविधायन सौन्दर्यम
-
entertainment2 weeks agoशोले निर्माण कथा निफमा
-
lifestyle4 weeks agoएरिका गुरुङ तमु धी युकेको गुडविल एम्बासडर
-
Feature4 weeks agoचैते छठ
-
Art2 weeks agoअतिरञ्जन को मनोरञ्जन
-
Feature3 weeks agoभक्तपुर दरबार स्क्वायर


You must be logged in to post a comment Login