Connect with us

Offbeat

गुरुङ संस्कृतिमा अर्घुँ र जग्गे निर्माणको महत्वबारे ‘हाम्रा कुरा’ कार्यक्रममा प्रस्तुति

Published

on

काठमाडौं — नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको गुरुङ भाषाको कार्यक्रम ‘हाम्रा कुरा’मा गुरुङ समुदायको मृत्युपछिको संस्कार अर्घुँ र त्यसमा निर्माण गरिने जग्गेको महत्वबारे विशेष सामग्री प्रस्तुत गरिएको छ।

कार्यक्रम सञ्चालक अनिता गुरुङले दर्शकलाई स्वागत गर्दै गुरुङ भाषा, संस्कार, संस्कृति तथा गाउँघरका परम्परागत गतिविधिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन हुँदै आएको बताइन्।

यसपटकको कार्यक्रममा लमजुङको बेशिशहर नगरपालिका–१० निवासी स्वर्गीय तिर्थ बहादुर घलेको अर्घुँको सन्दर्भमा जग्गे निर्माण प्रक्रिया र त्यसमा प्रयोग हुने धार्मिक सामग्रीबारे जानकारी दिइएको थियो। कार्यक्रममा लामा, प्हच्यु, क्ह्याब्रे तथा बोन्पोहरूले आ–आफ्नो विधिअनुसार जग्गेमा राखिने सामग्री र तिनको धार्मिक अर्थबारे व्याख्या गरिएको थियो।

जग्गेमा धर्मपाल गुरु, गुरु रिन्पोछे (पद्मसंभव), महाकाल, बज्रपाणि, पाल्देन लामा लगायतका देवताका प्रतीकात्मक आकृति राखिने र यी सबैले मृतक आत्माको मार्गदर्शन तथा संरक्षण गर्ने विश्वास रहेको कार्यक्रममा उल्लेख गरिएको थियो। त्यस्तै, मृतकको आत्मा बोलाउनका लागि विशेष संरचना ‘किलखोर’ तयार गरिने र त्यसमा चोखो पानी, प्रतीकात्मक शरीर (ओदान) तथा मृतकसँग सम्बन्धित वस्तुहरू राखिने परम्परा पनि देखाइएको थियो।

अर्घुँमा १०० वटा ‘स्हिटो’ पूजा गर्ने चलन रहेको, जसमा ४२ शान्त र ५८ क्रोधित देवताको पूजा गर्नुपर्ने धार्मिक मान्यता रहेको जानकारी पनि कार्यक्रममा दिइयो। यसरी सम्पूर्ण विधि सम्पन्न भएपछि मात्र मृतकको आत्माले मुक्ति पाउने विश्वास गरिन्छ।

कार्यक्रममा गुरुङ लामाको मुखबाटै यी धार्मिक विधि र तिनको अर्थबारे जानकारी प्रस्तुत गरिएको थियो। ‘हाम्रा कुरा’ले यस्ता सामग्रीमार्फत गुरुङ समुदायको मौलिक परम्परा उजागर गर्दै आएको छ।

कार्यक्रमको अन्त्यमा सञ्चालक गुरुङले दर्शकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सांस्कृतिक विषयवस्तु लिएर आउने प्रतिबद्धता व्यक्त गरिन्।

Continue Reading
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Feature

काठमाडौकै आकर्षक बाटो (तस्विरहरु)

Published

on

नारायणगोपाल चोकदेखि चप्पल कारखाना खण्ड अहिले निकै आकर्षक बनेको छ।

नेपाल सरकारकै लगानीमा बनेको ७०० मिटर लामो यो ८ लेन सडकमा जेब्रा क्रसिङ्ग, लेन मार्किङ र कालोपत्रे काम पूरा भएपछि सडक निकै आकर्षक देखिएको हो।

चीनले कलंकीदेखि बसुन्धारासम्म मात्रै चक्रपथ विस्तार गर्ने भएपछि यो भाग नेपाल सरकारले आफैं निर्माण गरेको हो। सडकको डिजाइन सडक डिभिजन काठमाडौंले तयार गरेको बताइएको छ।

अब महाराजगञ्जदेखि गोपीकृष्ण पुलसम्म विस्तार गर्ने तयारी भइरहेको छ।

Continue Reading

entertainment

श्रद्धापूर्वक मनाइयो बरसाइत पर्व

Published

on

पतिको दीर्घायु, सुख–समृद्धि र दाम्पत्य जीवनको मंगलकामना गर्दै मिथिलाञ्चलका महिलाले आज श्रद्धापूर्वक बरसाइत (बटसावित्री) पर्व मनाएका छन्। प्रत्येक वर्ष जेठ कृष्णपक्षको औँसीका दिन मनाइने यो पर्व विशेषगरी विवाहित महिलाका लागि महत्वपूर्ण मानिन्छ।

बरसाइत पर्वमा नवविवाहिता महिलाले बिहेपछि आउने पहिलो पर्व अनिवार्य रूपमा श्रीमान्को घरमै मनाउने परम्परा रहेको छ। पर्वको अघिल्लो दिन नुहाइधुवाइ गरी सात्विक भोजन गर्ने चलन छ भने माइतीबाट लुगा, चुरा, सिन्दूर लगायतका शृङ्गार सामग्री पठाइने गरिन्छ।

आज बिहानैदेखि महिलाहरू रातो, पहेँलो र विभिन्न रंगका परम्परागत पहिरनमा सजिएर नजिकैको वर (बर) रुखमुनि पूजा गर्न पुगेका छन्। वर र पीपल दुवैको उपस्थितिलाई शुभ मानिने भएकाले सम्भव भएसम्म दुवै रुखसँगै पूजा गरिन्छ।

पूजाका क्रममा अंकुरी, फलफूल, नरिवल लगायतका प्रसाद वरको जरामा चढाइन्छ। महिलाहरूले सिन्दूरले वरको रुख सजाउँदै रातो र पहेँलो धागोले सात पटक बेर्ने परम्परा पनि निभाएका छन्। पति–पत्नीले सँगै परिक्रमा गर्ने र जल चढाउने चलनले दाम्पत्य सम्बन्ध अझ बलियो हुने विश्वास गरिन्छ।

धार्मिक मान्यताअनुसार सावित्रीले आफ्नो पतिलाई मृत्युबाट बचाएको कथासँग यो पर्व जोडिएको छ। त्यसैले महिलाहरू दिनभर उपवास बसेर परिवारको सुख, शान्ति र पतिको दीर्घायुको कामना गर्दै श्रद्धापूर्वक बरसाइत पर्व मनाउने गर्छन्।

Continue Reading

Offbeat

बबरमहलको भित्तामा जीवित बनेको काठमाडौंको संस्कृति र सम्पदा

Published

on

काठमाडौंको बबरमहल क्षेत्र यतिबेला कला, संस्कृति र सम्पदाको खुला संग्रहालयजस्तै बनेको छ। सडकछेउको लामो सार्वजनिक पर्खालमा कोरिएका रंगीन चित्रहरूले राजधानीको पुरानो इतिहास, नेवारी सभ्यता र धार्मिक सम्पदालाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।

काठमाडौं महानगरपालिकाले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा निर्माण गरेको यो भित्ते कला अहिले सर्वसाधारणको आकर्षणको केन्द्र बनेको छ। सहरको व्यस्त वातावरणबीच यी चित्रहरूले काठमाडौंको मौलिक पहिचानलाई कलात्मक ढंगले सम्झाइरहेका छन्।

महानगरपालिकाले सार्वजनिक पर्खाललाई केवल खाली संरचना नभई संस्कृति बोल्ने माध्यम बनाउने उद्देश्यसहित पुरातात्विक महत्त्वका मूर्त तथा अमूर्त सम्पदाको चित्रणीकरण गरेको जनाएको छ। यसले एकातिर सहरको सौन्दर्य बढाएको छ भने अर्कोतर्फ नयाँ पुस्तालाई काठमाडौंको इतिहास र सभ्यताबारे जानकारी दिने काम पनि गरिरहेको छ।

भित्तामा कोरिएका चित्रहरूमा काठमाडौंको नेवारी संस्कृति स्पष्ट झल्किन्छ। परम्परागत वेशभूषा, सांस्कृतिक झाँकी, धार्मिक आस्था र ऐतिहासिक सम्पदाका दृश्यहरूले पुरानो काठमाडौंलाई सम्झाइदिन्छन्। त्यस्तै काष्ठमण्डप, स्वयम्भू महाचैत्य तथा काठमाडौं उपत्यकासँग जोडिएको मञ्जुश्रीको कथा पनि चित्रमार्फत प्रस्तुत गरिएको छ।

रंग, रेखा र शैलीको संयोजनले ती चित्रहरूलाई अझ जीवन्त बनाएको छ। सडकबाट हिँड्ने मानिसहरू केहीबेर रोकिएर ती कला नियालिरहेका देखिन्छन् भने धेरैले तस्वीर तथा भिडियो बनाएर सामाजिक सञ्जालमा साझा गर्ने गरेका छन्।

यो कलात्मक अभियानमा प्रतिष्ठानका कलाकारहरू डि.बी. भण्डारी, विक्रम तामाङ, जीवन तामाङ, रसिक राज, सामर्थ थापा, भरत भण्डारी, सि.के. चौधरी, विक्कु कुमार थापा तथा आयुष बज्राचार्यलगायतको योगदान रहेको छ। कलाकारहरूको मेहनतले सामान्य पर्खाललाई काठमाडौंको इतिहास बोल्ने क्यानभासमा रूपान्तरण गरेको छ।

सहरका पर्खालमा यस्ता सांस्कृतिक चित्रहरू कोरिन थालेपछि काठमाडौं झन् कलात्मक र जीवन्त बन्दै गएको अनुभूति गर्न सकिन्छ। आधुनिक सहरको भीडभाडबीच यस्ता सिर्जनाले राजधानीलाई आफ्नो मौलिकता सम्झाइरहेका छन्।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com